साफ फुटबलको उपाधि भिडन्त आज हुँदै, उपाधिका लागि नेपाल र भारत खेल्दै

Spread the love

काठमाडौं, असोज ३० (ई-रैवार)

साफ फुटबलको उपाधि भिडन्त आज हुँदैछ । साफ च्याम्पियनसिप २०२१ अन्तर्गत शनिबार हुने फाइनल खेलमा नेपाली राष्ट्रिय फुटबल टोलीले उपाधिका लागि भारतको सामना गर्दैछ ।

उपाधिका लागि नेपालले बलियो प्रतिद्वन्द्वी भारतसँग आज राति ८:४५ बजे मालेको माल्दिभ्स फुटबल स्टेडियममा खेल्दैछ । १३औँ संस्करणको खेल चलिरहँदा पहिलो पटक उपाधि नजिक पुगेको नेपाललाई ७ पटक उपाधि जितेर सर्वाधिक सफल बनेको भारतसँग खेल्न त्यति सजिलो छैन ।

भारत लिग चरणको विजेता बन्दै फाइनल पुगेको हो भने नेपालले उपविजेता बन्दै फाइनल यात्रा तय गरेको थियो । भारतले समूह चरणमा दुई जित र दुई बराबरीको नतिजासहित ८ अंक बटुल्यो । नेपालले २ जित, एक बराबरी र एक हारको नतिजासहित ७ अंक प्राप्त गरेको थियो ।

यसअघिका २२ खेलमा नेपालले भारतसँग १४ हार, ५ जित र २ खेल बराबरी गरेको थियो । जारी प्रतियोगितामा समूह चरणमा पनि भारतले नेपाललाई १-० ले हराएर आफू बलियो रहेको प्रमाणित गरेको थियो ।

नेपाली टिमका प्रशिक्षक किरण श्रेष्ठले ऐतिहासिक रुपमा फाइनल प्रवेश गरेको उल्लेख गर्दै प्राप्त अवसरलाई नगुमाउने र जित्नकै लागि खेल्ने उद्घोष गरेका छन् ।

खेलअघि पत्रकार सम्मेलनमा सहायक प्रशिक्षक किरण श्रेष्ठ र कप्तान किरण चेम्जोङले टोलीको तयारीबारे बोलेका थिए । प्रशिक्षक श्रेष्ठले नेपालले भारतविरुद्ध पुरानो खेलबारे बिर्सेर नयाँ खेलका लागि तयारी गरिरहेको बताए । ‘ पहिलो खेलमा जे भयो, त्यो सकियो । अब हाम्रो सम्पूर्ण ध्यान भोलिको खेलमा छ । हामीले पुरानो नतिजाबारे सोचिरहेका छैनौं,’ उनले भने ।

श्रेष्ठले टोलीको तयारी राम्रो भइरहेको र खेल कठिन हुने बताए । ‘फाइनलको लागि राम्रो तयारी भइरहेको छ । हामीले पछिल्ला खेलमा गरेका गल्ति सच्याउनेछौं । खेल निकै कठिन हुनेछ । हामी आक्रमण र डिफेन्स दुवैमा राम्रो गर्नेछौं । भोलिको खेलमा निकै मिहिनेत गर्नेछौं,’ उनले भने, ‘पुजनको अवस्थाबारे भोली नै थाहा हुनेछ । आशा गरौं भोलीसम्म ठिक हुनेछन् ।’