एमाले अध्यक्ष ओलीले स्थायी कमिटी बैठक बोलाए, नेपालसहित ११ सांसदलाई थप कारबाहीको तयारी

एमाले अध्यक्ष ओलीले स्थायी कमिटी बैठक बोलाए, नेपालसहित ११ सांसदलाई थप कारबाहीको तयारी
Spread the love

काठमाडौं, जेठ १० (ई-रैवार)

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठक बोलाएका छन् । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित निवासमा सोमबार दिउसो ४ पछि स्थायी कमिटी बैठक बोलाएका हुन् ।

बैठकमा चुनावको घोषणाविरुद्ध विपक्षी गठबन्धनको कसरत र पार्टीको आन्तरिक विवादबारे छलफल हुने बताइएको छ । बैठकमा माधवकुमार नेपालसहित ११ सांसदलाई २४ घण्टाको समय दिएर मागिएको स्पष्टीकरणका बारेमा छलफल हुने र थप कारबाहीको तयारी गरिएको एक नेताले जानकारी दिए ।

यसअघि ८ जेठमा बसेको स्थायी कमिटीले नेता नेपाल सहित ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । स्पष्टीकरण बुझाउन भनेर दिइएको समयावधि पूरा भएकाले सोमबारको स्थायी कमिटीको बैठकले थप निर्णय लिन सक्ने अनुमान छ ।

आजको बैठकमा पार्टी अनुशासनविपरित विपक्षी दलसँग मोर्चाबन्दी आरोपमा माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरा जैरुलाई सोमबार बिहानसम्म स्पष्टीकरण बुझाउन भनिएको थियो ।

नेकपा एमालेका २६ सांसदले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री चयन गर्नका लागि हस्ताक्षर गरेका थिए । विपक्षी गठबन्धनमा रहेर आफ्नै सरकारविरुद्ध उभिएको भन्दै प्रधानमन्त्री ओलीले हस्ताक्षरकर्ता सांसदहरुलाई कारबाहीको तयारी गरेको एक नेताले जानकारी दिए ।