काठमाण्डौँ, भदौ १२ (ई-रैवार)
नेपाली कांग्रेसका शिर्ष नेताहरुबीच फेरि अर्को सहमति भएको छ । सहमति भएसंगै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरूको जारी अनशन आज तोडिने भएको छ ।
क्रियाशील सदस्यता सूची सार्वजनिक गर्नुपर्ने, जिल्ला सभापतिको उम्मेदवारका बारेमा बनाइएको दोहोरो मापदण्ड खारेज गर्नुपर्ने लगायतका माग राखेर जिल्ला सभापतिहरु चार दिनदेखि रिले अनशनमा छन् । शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको शिर्ष नेताको सहमति अनुसार जिल्ला सभापतिले उठाएका माग संबोधनका लागि सभापति शेरबहादुर देउवा तयार भएका हुन् ।
सभापति देउवाले माग सम्बोधन गर्ने बताएपछि जिल्ला सभापतिहरुको रिले अनशन आजदेखि रोकिने कांग्रेस पूर्वमहामन्त्री प्रकाशमान सिंहले जानकारी दिएका छन् ।
जिल्ला सभापतिहरुले क्रियाशील सदस्यता सार्वजनिक गरी त्यसमा भएका त्रुटी सच्याउने प्रतिबद्धतासहित जिल्लालाई समय दिनुपर्ने, एक निर्वाचन भएका र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्ला सभापतिको निर्वाचनमा एकरुपमा कायम गर्नुपर्ने र जिल्ला सभापतिले पनि महासमिति सदस्यमा चुनाव लड्न पाउनुपर्ने सहितका माग राखेका थिए ।
माग संबोधनमा सभापति देउवा तयार भएपछि ७७ वटै जिल्लाको क्रियाशील सदस्यता प्रकाशितगरी सच्याउन जिल्लालाई दुई दिनको समय दिइने भएको छ । कांग्रेस वरिष्ठ नेता पौडेलका स्वकीय सचिव चिरञ्जीवि अधिकारीले भने, “शनिबारै ७७ जिल्लाको क्रियाशील सदस्यता प्रकाशित गर्ने सहमति भएको छ ।” उनले जिल्ला सभापतिको अनसन अन्त्यका लागि पनि क्रियाशील सदस्यता विवाद समाधान समितिले पहल गर्ने समझदारी भएको बताए ।
सभापति देउवासँगको सहमतिबारे ब्रिफिङ गर्न पौडेल समूहका नेताहरुको शनिबार बिहान छलफल भएको छ । सिंह निवास चाक्सीबारीमा बसेको पौडेल समूहको बैठकले आफूहरुले उठाएका विषयको सम्बोधन गर्न सभापति देउवा सकारात्मक भएकाले अब महाधिवेशनमा केन्द्रीत हुने निर्णय गरेको छ ।
‘विधि, नियम अनुसार क्रियाशील सदस्यताको बाँकी काम छानबिन समितिले छिटो टुंग्याउने र महाधिवेशनमा जाने सभापतिज्यूसँग सहमति भएको छ’ नेता सिंहले भने, ‘रिले अनशनमा बसिरहेका जिल्ला सभापतिहरुको माग पूरा गर्ने वातावरण बनेको छ । उहाँलाई अनशन अन्त्य गरेर महाधिवेशनलाई सफल बनाउन अनुरोध गर्ने कुरा भएको छ ।’
नेता सिंहले निर्वाचन समितिले सल्लाह गरेर काम गरिहेको उल्लेख गर्दै तोकिएकै समयमा महाधिवेशन गर्नुपर्ने संवैधानिक बाध्यताप्रति आफूहरु सचेत रहेको बताए । ‘महाधिवेशन समयमै गर्नुपर्ने बाध्यता छ । भदौ १८ को अधिवेशन देशभरका सबै वडामा गर्ने निर्णय भएको छ,’ नेता सिंहले भने, ‘अब सबै महाधिवेशनमा केन्द्रीत गर्छौं ।’
जिल्ला सभापतिहरुको अनशन टुंग्याउने जिम्मेवारी पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु डा. मिनेन्द्र रिजाल र रमेश लेखकलाई दिइएको छ । सिटौला, रिजाल र लेखकले पार्टी कार्यालय सानेपा पुगेर जिल्ला सभापतिहरुको माग सम्बोधन गर्ने बताइएको छ । कांग्रेस पार्टी कार्यालय सानेपामा ४० दिनदेखि धनुषा, रौतहट, सर्लाहीका नेता कार्यकर्ताहरु धर्नामा छन् ।


