देउवा र दाहालबीच भेटवार्ता, सरकारलाई पूर्णता दिनेबारे छलफल

देउवा र दाहालबीच भेटवार्ता, सरकारलाई पूर्णता दिनेबारे छलफल
Spread the love

काठमाडौं, भदौ १२ (ई-रैवार)

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालबीच शनिबार बिहान भेटघाट भएको हो ।

भेटमा सरकारलाई चाँडै पूर्णता दिने विषयमा छलफल भएको प्रचण्डको स्वकीय सचिव गंगा दाहालले जानकारी दिइन् । शनिबार बिहान देउवालाई भेट्न दाहाल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए ।

भेटमा सत्तारुढ गठबन्धनलाई थप बलियो र विश्वासको वातावरण बनाउँदै सरकारलाई पूर्णता दिने विषयमा छलफल भएको छ । स्रोतका अनुसार प्रधानमन्त्री देउवाले मन्त्रीपरिषद्लाई पूर्णता दिने तयारी गरिरहेका छन् ।

प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका माधवकुमार नेपाल र महन्थ ठाकुर नेतृत्वको नेकपा (एस) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को दर्ता प्रक्रिया पूरा भएकाले अब केही दिनभित्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने देउवा निकट एक नेताले बताए ।

गएको २९ असारमा प्रधानमन्त्री पदमा शपथ लिएका देउवाले एक सातामै संसदमा विश्वासको मत लिए । तर मन्त्रिपरिषद्मा विश्वासको मत दिने दल र सांसदहरुलाई समेट्ने चक्करमा देउवाले अहिलेसम्म पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् ।

नवगठित माधवकुमार नेपाल नेतृत्वको नेकपा (एस) ले सरकारमा सहभागी हुने निर्णय गरिसकेको छ । ठाकुर नेतृत्वको लोसपा सरकारमा सहभागी हुने वा नहुने टुंगो लागेको छैन ।