काठमाडौँ, भदौ ५ (ई-रैवार)
प्रधानमन्त्री शेरबहादुर देउवाको प्रमुख स्वकीय सचिवमा भानु देउवा नियुक्त भएका छन् । प्रधानमन्त्री देउवाले प्रमुख स्वकीय सचिवमा भानु देउवालाई एक हप्ताअघि नै नियुक्त गरेको देउवाको सचिवालय स्रोतले जनाएको हो ।
प्रधानमन्त्री देउवाको सचिवालयमा पुरानै टिमले काम गरिरहे पनि अरु सदस्यहरू भने नियुक्त भएका छैनन् । गएको असार २९ गते प्रधानमन्त्री नियुक्त भएर त्यही दिन शपथ लिएका देउवाले अरू चार मन्त्री नियुक्त गरेका थिए । तर, सचिवालय भने बनाएका थिएनन् ।
प्रधानमन्त्री देउवाले राजनीतिक कारण मन्त्रिपरिषद् विस्तार गर्न नसकेको विषयमा टिप्पणी हुँदा सचिवालय नबनेको विषयसमेत उठ्दै आएको थियो ।
प्रधानमन्त्री देउवाले पार्टी सभापति हुँदा समेत स्वकीय सचिवको जिम्मेवारीमा रहेका भानुलाई नै प्रमुख स्वकीय सचिवमा नियुक्त गरेका हुन् । अघिल्लो कार्यकालमा पनि देउवाले भानुलाई नै प्रमुख स्वकीय सचिव बनाएका थिए ।


