काठमाडौँ, साउन २१ (ई-रैवार)
नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सभा सदस्य (सांसद) विमला खत्री (ओली)ले मुख्यमन्त्री शङ्कर पोखरेलको निवासमा ‘बन्धक’ बनाइएको र आफू त्यहाँबाट भागेर आउन सफल भएको बताएकी छिन्।
बिहीबार पत्रकार सम्मेलन गर्दै उनले मुख्यमन्त्री शङ्कर पोखरेलको निवासमा तीन दिन बन्धक बनाइएको उल्लेख गरेकी छिन्। मुख्यमन्त्री पोखरेलको निवासमा बन्दी बनाएर जबर्जस्ती एमालेमा रहेको ब्यहोराको विज्ञप्तिमा हस्ताक्षर गर्न लगाइएको खुलासा गरेकी हुन् ।
आफूलाई एमालेमा सामेल हुन र मन्त्री बन्न दबाब दिँदै साउन १६, १७ र १८ गते मुख्यमन्त्री निवासबाट बाहिर निस्कन नदिइ निरन्तर दबाब दिइएको उनले बताइन् ।
‘वलीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘साउन १५ गते उपचारको लागि नेपालगन्ज हिँड्न लागेको समयमा एमाले लुम्बिनी प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक भुमीश्वर ढकाल र स्थानीय नेता मानबहादुर रावत मेरो घर आउनुभयो। म बिरामी छु उपचारको लागि नेपालगन्ज जादैछु भन्दा उहाँहरूले हामी पनि नेपालगन्ज जाने हो, पुरार्याइँ दिन्छौँ भन्नुभयो । विश्वास गरी गाडीमा बसेँ । गाडी तुल्सीपुरबाट अमिलिया आएर उहाँहरू खाना खानु भयो । गाडीमा बसियो तर गाडी नेपालगन्ज तिर जानु पर्नेमा एक्कासि बुटवलतिर मोडियो । मैले प्रतिवाद गरेँ । एक पटक मुख्यमन्त्रीज्यूलाई भेट्नु पर्यो भनेर गाडी नरोकी एकैचोटी बुटवल मुख्यमन्त्री निवासमा पुर्याइयो ।
मुख्यमन्त्री निवासबाट उन्मुक्ति पाउने र बाहिर गएपछि सबै घटना सार्वजनिक गर्ने योजना बनाए पनि आफूलाई अझ कडाईका साथ मुख्यमन्त्री निवासमै राखिएको उनले बताइन् ।
२० गते बिहान आफूलाई असह्य पीडा भएको र यहाँबाट जसरी पनि निस्कनुपर्छ भनेर सोच बनाएर दिनको पौने १२ बजेतिर सबै आराम गरिरहेको मौका छोपेर ट्वाइलेटको चप्पल लगाएर नेकपा माओवादी केन्द्र संसदीय दलको कार्यालयमा पुगेको पनि उनले बताइन् । बिहीबार बुटवलमा पत्रकार सम्मेलन गर्दै उनले आफू माओवादी केन्द्रमै रहेको बताइन् ।




