काठमाडौँ, साउन १२ (ई–रैवार)
जनता समाजवादी पाटी (जसपा) नेपालको कार्यकारिणी समितिको बैठक मंगलबार बस्ने भएको छ । निर्वाचन आयोगबाट आधिकारिकता पाएपछि पहिलो बैठक आज २ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने भएको हो ।
दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यलय बालकुमारीमा बस्ने गरी बैठक डाकिएको कार्यकारिणी सदस्य प्रदिप यादवले जानकारी दिए । बैठकमा महन्थ ठाकुर-राजेन्द्र महतो समूलाई खबर गरिएको यादबले जानकारी दिएका छन् । तर, ठाकुर-महतो पक्ष भने बैठकमा सहभागी नहुने नेता लक्ष्मणलाल कर्णले जानकारी दिए ।
निर्वाचन आयोगले अन्याय गरेकाले त्यसलाई स्वीकारेर यादबले डाकेको बैठकमा नजाने कर्णले बताए । आफूहरु निर्वाचन आयोगले गरेको निर्णयविरूद्ध सर्वोच्च अदालतमा जाने विषयमा आन्तरिक छलफलमा रहेको उनले बताए । बैठकबारे खबरसमेत नभएको उनको भनाइ छ ।
‘आयोगको निर्णयविरूद्ध अदालत जान्छौँ । १५ गते सर्वोच्चले दुबै पक्षलाई डाकेकाले त्यसपछि जाने वा अघि भन्नेमा हामी परामर्शमा छौँ,’ कर्णले भने, ‘उपेन्द्रसँग समर्पित भएर पार्टीमा बस्न सक्दैनौँ बरू नयाँ पार्टी खोल्छौँ ।’
पार्टी विवादबारे ठाकुर पक्षले हालेको रिटमा सर्वोच्च अदालतले साउन १५ मा दुबै पक्षलाई डाकेको छ ।
पार्टीका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बस्ने बैठकमा आधिकारिकता पाएपछि पार्टीको पुनर्गठन, संगठन विस्तार, संसदीय दलको नेता चयन, सरकारमा सहभागिता लगायतका विषयमा छलफल हुने कार्यकारिणी सदस्य यादवले बताए ।
संसदीय दलको विधान कार्यकारिणी समितिबाट पारित भइसकेको छ । सो विधानलाई संसदीय दलमा पठाइने छ । संसदीय दलमा प्रकृया सुरु गरेर संसदीय दलको नेता चयन हुने बताइएको छ । संसदीय दलको नेतामा उपेन्द्र यादव चयन हुने लगभग निश्चित छ ।
निर्वाचन आयोगमा हिजो भएको हेड काउन्टमा उपेन्द्र यादवको पक्षमा ३४ जना कार्यकारिणी सदस्यले हस्ताक्षर गरेका थिए । सोलगत्तै आयोगले उपेन्द्र यादव नेतृत्वको जसपालाई आधिकारिकता दिँदै महन्थ ठाकुर पक्षलाई प्रक्रिया पुर्याएर नयाँ पार्टी दर्ता गर्न आउन भनेको थियो ।


