देशभर आजदेखि पुनः खोप अभियान सुरु, क-कसले खोप लगाउन पाउँछन् ?

Spread the love

काठमाडौं, असार २९ (ई–रैवार)

देशभर आजदेखि पुनः खोप अभियान सुरु हुने भएको छ । स्वास्थ्य सेवा विभागले आजदेखि ७७ वटै जिल्लामा खोप अभियान सुरु गर्ने भएको हो ।

अमेरिकाबाट आएको जोन्सन एण्ड जोन्सनको १५ लाख डोज खोप र चीनबाट ल्याएको ८ लाख डोज भेरोसेल लगाउन थाल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य सेवा विभागका अनुसार चीनबाट खरिद गरी ल्याइएको भेरोसेल खोप यसअघि पहिलो मात्रा लगाउन छुटेका ५५ वर्षमाथिका सबै नागरिक, विश्वविद्यालयका प्राध्यापक, विद्यालयका शिक्षक तथा कर्मचारी, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालक, अत्यावश्यक सेवामा संलग्न भई खोप लगाउन छुटेका नागरिकलाई दिइनेछ ।

त्यसबाहेक खोप अनिवार्य गरिएका देशमा वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकले पनि भेरोसेल खोप लगाउन पाउनेछन् ।

उता, अमेरिकी सरकारले अनुदानस्वरुप उपलब्ध गराएको जानसेन खोप यसअघि पहिलो मात्रा लगाउन छुटेका ५० देखि ५४ वर्ष उमेर समूहका मानिसहरूलाई दिइने छ ।

जोन्सन एन्ड जोन्सन खोप ५० देखि ५५ वर्ष उमेर समूह, अपाङ्गता भएका नागरिक, नेपालमा बसोबास गरिरहेका शरणार्थी एवं स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र सरसफाइकर्मीले पनि लगाउन पाउने मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

खोप लगाउन जाँदा नागरिकले उमेर खुल्ने आधिकारिक प्रमाण पेस गर्नुपर्नेछ । सार्वजनिक सवारीका चालक, सहचालकले आधिकारिक परिचयपत्र र सवारीसाधन नम्बरसहित व्यवसायी संघबाट तथ्यगत विवरण माग गरी प्रमुख जिल्ला अधिकारीबाट प्रमाणित सूचीका आधारमा खोप लगाउन पाउनेछन् ।

विश्वविद्यालय, विद्यालयका शिक्षक र कर्मचारीले पनि आधिकारिक परिचयपत्रका आधारमा खोप लगाउन पाउनेछन् ।  विदेश जान लागेकाको हकमा पासपोर्ट र सम्बन्धित देशको भिसाका आधारमा खोप लगाउन पाउने मन्त्रालयले उल्लेख गरेको छ । तर कोभिशिल्ड खोपको एउटा मात्रा लगाएकाहरुले यो खोप लगाउन नहुने पनि मन्त्रालयले जनाएको छ ।

नेपाल सरकारले चिनबाट शुक्रबार मात्रै ८ लाख डोज भेरोसेल खोप खरिद गरी ल्याएको थियो । त्यस्तै आइतबार मात्रे अमेरिकी सरकारबाट अनुदानस्वरुप १५ लाख डोज जोनसन एण्ड जोनसन कम्पनीको जानसेन खोप उपलब्ध गराएको थियो । ​जानसेन खोप एक मात्रा मात्रै लगाए पुग्नेछ ।