कांग्रेसले राख्यो वेवसाइटमा क्रियाशील सदस्यको नामावली, अब १४ औं महाधिवेशनमा केन्द्रीत हुने

कांग्रेसले राख्यो वेवसाइटमा क्रियाशील सदस्यको नामावली, अब १४ औं महाधिवेशनमा केन्द्रीत हुने
Spread the love

काठमाडौँ, वैशाख ३१ (ई-रैवार)

नेपाली कांग्रेस अब १४ औं महाधिवेशनमा केन्द्रीत हुने भएको छ। काँग्रेसको १४ औँ  महाधिवेशन भदौ ७ देखि हुने कार्यतालिका बनाएको कांग्रेसले लगभग सबै जिल्लाबाट क्रियाशील सदस्यको विवरण केन्द्रमा आइसके पछि महाधिवेशनमा केन्द्रीत हुने भएको  हो ।

१४ औँ महाधिवेशनका सन्दर्भमा पार्टीको विधान, नियमावली र केन्द्रको परिपत्रानुसार प्रक्रिया पुर्‍याई विवादरहित प्राप्त क्रियाशील सदस्यता विवरण सार्वजनिक गरेको केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले बताए।

काँग्रेसले क्रियाशील सदस्यतासम्बन्धी कार्य सम्पन्न गरी जिल्ला र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले केन्द्रबाट उपलब्ध गराइएको सफ्टवेयरमा नामावली विवरण इन्ट्री गरी क्रियाशील सदस्यताका लागि प्रस्ताव गरिएका विवरण पार्टीको आधिकारिक वेबसाइटमा बिहीबार सार्वजनिक गरेको हो।

‘क्रियाशील सदस्यको विवरण www.nepalicongress.org मा गएर हेर्न मिल्छ,’ उनले भने। कांग्रेस केन्द्रीय कार्यसमितिको गत वैशाख ६ को निर्णयअनुसार क्रियाशीलको विवरण वेवसाइटबाट सार्वजनिक गरिएको हो। ‘सार्वजनिक गरिएका क्रियाशील सदस्यको नामावलीउपर कुनै उजुरी वा गुनासा भए info@nepalicongress.org मा इमेल गर्न सकिन्छ,’ उनले भने।

साथै डा प्रदीप पराजुली ९८५१०४४०६५, केशव रिजाल ९८५११२९०७८ र रामचन्द्र घिमिरे ९८५११२४१९८ लाई पनि जानकारी गराउन सकिने पार्टी कार्यालयले जनाएको छ। सार्वजनिक गरिएका प्रस्तावित नामावलीमाथि परेका उजूरी र गुनासाका सम्बन्धमा समितिले गरेको निर्णयानुसार प्रस्तावित नामावलीको अन्तिम सूची कायम हुनेछ। कम्प्युटर इन्ट्री भएका बाँकी जिल्ला र क्षेत्रको प्रस्तावित नामावली पनि क्रमशः सार्वजनिक गरिने काँग्रेसले जनाएको छ।