काठमाडौँ, साउन १६ (ई-रैवार)
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन् । वरिष्ठ नेता नेपाललाई अध्यक्ष ओलीले दक्षिणपन्थी मतियार बनेको आरोप लगाउँदै पार्टीमा कुनै ठाउँ नभएको स्पष्ट पारेका हुन् ।
अध्यक्ष ओलीले आज काठमाडौं जिल्ला कमिटीको बैठकलाई संबोधन गर्दै नेता नेपाललाई अपराधीको संज्ञा समेत दिए । उनले नेता नेपाललाई ‘देशद्रोही’को आरोप पनि लगाए । उनले भने, ‘अरु साथीहरु महसुस गरेर फर्कनहुन्छ भने हामी तयारै छौँ। आउनुस यो पार्टी हामी सबैले बनाएका हौँ गल्ती भइहाल्यो भने पनि क्षमा गरौँला ।’
ओलीले भने ‘माधव नेपालजस्ताका लागि पार्टीमा कुनै ठाउँ छैन, वामपन्थी सरकार ढाल्ने दक्षिणपन्थी सरकार बनाउने, विश्वासको मत दिने’ उनले भने ‘आफ्नो पार्टीका प्रधानमन्त्रीले विश्वासको मत माग्दा नदिने, दक्षिण पन्थीको सरकारलाई विश्वासको मत दिन फ्लोर क्रस गर्ने, त्यस्ताका लागि ठाउँ छैन ।’
“अब माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई कुनै ठाउँ छैन,” ओलीले भने- प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका सांसदहरुलाई प्रतिक्रियावादीको मतियार बनेको आरोपसमेत लगाए ।
ओलीले सम्बोधनका क्रममा भने, ‘संसारको जुन कुनामा नेपाली पुग्या छन्, त्यहाँ एमाले पुग्या छ । त्यसैले देशव्यापी रुपमा मात्रै होइन, विश्वव्यापी रुपमा एमाले पुग्या छ ।’ तर पार्टी एकताका नाममा धेरै कुर्न नसकिने अध्यक्ष ओलीले बताए । ‘धेरै चिन्ता गरिरहनुपर्ने छैन, जो आउँदैनन् आँदैनन्, केही साथीहरुसँग कुरा भइरहेको छ’ उनले भने ।
अध्यक्ष ओलीले आगामी चुनावमा पार्टीले बहुमत ल्याउने दावी गरे । पार्टीमा खुट्टा तान्नेहरु कोही नभएको भन्दै अब सजिलै बहुमत ल्याउन सकिने उनको भनाइ छ ।
केही मान्छेले एमालेको विरोध गरे पनि केही नोक्सान नहुने उनको भनाइ थियो । उनले भने, ‘गाउँगाउँमा एमाले पुग्या छ, कुनाकुनामा एमाले पुग्या छ । जहाँ काम गर्ने मान्छे छन् त्यहाँ एमाले पुग्या छ । केही दर्जन मान्छेले भोपो बजाएर एमालेको विरोध गर्दैमा केही क्षति हुनेवाला छैन ।’


