काठमाडौँ, असार ३ (ई-रैवार)
नेपाली कांग्रेस सहितको विपक्षी गठबन्धनले बाढी, पहिरो र डुवान पीडित जनताको उद्दार तथा राहतलाई प्रभावकारी बनाउन सरकारसँग माग गरेको छ । विपक्षी गठबन्धनले संयुक्त वक्तव्य जारी गर्दै पहिरो र डुवान पीडित जनताको उद्दार तथा राहतलाई प्रभावकारी बनाउन सरकारसँग माग गरेको हो ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमकल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले संयुक्त वक्तव्य जारी गर्दै राहत तथा उद्दारमा सहयोग गर्न पार्टी कार्यकर्ता र संघसंस्थाहरुलाई आह्वान गरेका हुन् ।
मनसुन वर्षाको आरम्भमा नै देशका अधिकांश जिल्लाहरुमा बाढी र पहिरोको प्रकोप देखिएको र कतिपय मानिसहरुको ज्यान जानुका साथै अर्बौ रुपैयाँ बराबर भौतिक संरचना, अन्नबाली र पशुचौपाया नष्ट भएको भन्दै उनीहरूले कोरोना महामारीबाट आक्रान्त जनजीवन यस कारण झनै कष्टकर बनेको बताएका हुन्।
बाढी, पहिरो र डुबानबाट जनताको सुरक्षा गर्न, पीडित जनता र विस्थापितहरुका लागि तत्काल आवास, खाद्यान्न, मृतकका परिवारलाई सहयोग, घाइतेहरुको उपचार लगायतका उद्धार र राहतका काम प्रभावकारी रुपमा अगाडि बढाउन गठबन्धनले नेपाल सरकारसँग माग गरेको छ।
‘इमान्दारी, तदारुकता र पारदर्शीरुपमा राज्यका सम्बन्धित सबै निकाय तथा साधन र स्रोतको पूर्ण परिचालन गरी विपद् व्यवस्थापनको कार्यलाई अघि बढाउन आग्रह गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ ।



