सुदूरपश्चिम जोड्ने नेपाल-भारतका सबै सीमानाका खुले

सुदूरपश्चिम जोड्ने नेपाल-भारतका सबै सीमानाका खुले
Spread the love

धनगढी माघ १६(ई-रैवार)

भारतमा कोरोना भाईरसको संक्रमण बढ्दै गएपछि नेपाल सरकारले नेपारमा जोखिम रोकथाम तथा नियन्त्रणका लागि भन्दै गत चैत १० गतेदेखि नेपाल–भारत सीमा नाका बन्द गरेको थियो।

त्यसयता नाकाको आवागमनलाई केही सहज बनाइए पनि भारतीय नागरिकलाई प्रवेश अनुमती दिइएको थिएन। नेपाली नागरिकहरूलाई पनि आंशिक अवरोध कायम थियो ।

तर सरकारले भारतसँग जोडिएका सुदूरपश्चिमका सबै सीमानाका शुक्रबारदेखि खुला गरेको छ।

मन्त्रीपरिषद्को निर्णयका आधारमा गृह मन्त्रालयले सीमा नाका खुला गरिएको जनाएको छ। मन्त्रालयका अनुसार कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी, बैतडीको झुलाघाट र दार्चुलाको खलङ्गा र पुलघाट नाका पूर्ण रुपमा खुला गरिएको हो।

नाका खुलेसँगै दुवै देशका नागरिकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालन गरि अब सहज आवतजावत गर्न सक्नेछन्। तर सीमानाकाबाट तेस्रो देशका नागरिकलाई भने प्रवेश अनुमति नदिइएको मन्त्रालयले जनाएको छ।