नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । एमालेको केन्द्रीय कमिटी बैठक अपराह्न ३ बजे च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्न लागेको हो ।
एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले आजको बैठकले स्प्रष्टीकरण सोधिएका २२ सांसदले जवाफ दिए त्यसको अध्ययन गरेर थप कदम चाल्ने जानकारी दिएका छन् । एमालेका २२ सांसदले पार्टी निर्देशनको अवज्ञा गर्दै साउन ३ मा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए ।
संविधानको धारा ७६(५) को सरकार गठनमा सांसदलाई पार्टीको ह्वीप नलाग्ने फैसला सर्बोच्च अदालतले गरेकाले उनीहरुलाई त्यही निर्णयले मात्रै कारबाही गर्न अप्ठ्यारो हुने भएकाले गठबन्धनमा लागेको लगायतका कारण देखाएर पार्टी सदस्यबाट हटाउनेसम्मको तयारी संस्थापन पक्षले गरेको छ ।
एमालेले यसअघि बुधबारको बैठकमा चार विशेष प्रस्ताव पारित गरेको थियो । बैठकले सर्वोच्च अदालतको फैसलाले पार्टी स्वतन्त्रता र दलीय प्रणालीमाथि प्रहार भएको निष्कर्ष निकाल्दै कानुनको अपख्याबाट सरकार बनाइएको ठहर गरेको छ ।
सर्वोच्चको फैसला संविधान र जनताको चाहना विपरीत भएको निष्कर्ष निकाल्दै बैठकले त्यसबारे जनतामाझ जाने प्रस्ताव पनि पारित गरेको थियो ।
केपी शर्मा ओली नेतृत्वको सरकारले घेरबन्दीकाबीच पनि ऐतिहासिक काम गरेको ठहर गरेको निष्कर्ष निकालेको बैठकले पछिल्लो राजनीतिक अवस्थाबाट निराश नहुन सम्पूर्ण कार्यकर्ता तथा सुभचिन्तकलाई आग्रह गरेको छ ।
त्यस्तै आफूहरू फेरि पुरानै ठाउँमा ‘कम्ब्याक’ हुने बैठकले निष्कर्ष निकालेको थियो ।


