काठमडौं, असार १८ (ई–रैवार)
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दललाई प्रधानमन्त्री बनाउनेगरी हस्ताक्षर गरेका नेता माधवकुमार नेपाल पक्षका नेताहरुलाई सोमबार साँझ पाँच बजे भित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाल) को १३ औं केन्द्रीय कमिटी बैठकमा शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनेगरी हस्ताक्षर गरेका नेता नेपाल पक्षका नेताहरुलाई सोमबार साँझ पाँच बजे भित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिएका हुन।
“पार्टीका नेता हौं भन्नेहरुले अरु दलको नेतालाई प्रधानमन्त्री बनाउन लाग्ने र अरुको पार्टीको हित हुने कार्य गरेको सैह्य छैन” प्रधानमन्त्री ओलीले भने, “हामी पार्टीको एकता जोगाउन अधिकतम लचिलो हुन तयार छौं, तर यादहोस् हाम्रो आन्दोलन धेरै मजबुत छ ।”
तर अध्यक्ष ओलीले आफ्नो पार्टीलाई कमजोर बनाएर विपक्षी दललाई बलियो बनाउने कुरा स्वीकार्य नहुने बताए । ‘सोमबार साँझ ५ बजेसम्म हस्ताक्षर फिर्ता भएन भने पार्टी एकता हुन्न’ उनले भने, कांग्रेसका नेतालाई प्रधानमन्त्री बनाउने छुट एमालेका सदस्यलाई छैन ।’
प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले हस्ताक्षर फिर्ता नगर्नु पार्टी फुटको घोषणा हुने उनले बताए । ‘‘ यो कुरा किमार्थ स्वीकार्य छैन । त्यसो गर्नु पार्टी फुटेको घोषणा हो’, उनले भनेका छन् ।
बालुवाटारमा जारी केन्द्रीय कमिटी बैठकमा शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री तथा अध्यक्ष ओलीले २३ निवर्तमान सांसदहरुलाई दुई दिनभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको हो । ओलीले प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा विचाराधीन मुद्दामा प्रयोग भएको हस्ताक्षर सोमबार साँझसम्म फिर्ता नभए पार्टी एकता समेत नहुने बताएका छन् ।
महाधिवेशन आयोजक कमिटी खारेज गरेको बोलाइएको केन्द्रीय कमिटी बैठकमा वरिष्ठ नेता नेपाल पक्षका नेताहरु भने अनुपस्थित थिए । बैठकमा उपस्थित उपाध्यक्ष बामदेव गौतमले दुई दिनभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिने निर्णयको विरोध गरेका थिए ।
७ जेठको मध्यरातमा भएको प्रतिनिधिसभा विघटन खारेज र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै १४६ सांसद सर्वोच्च अदालत गएका थिए, जसमा एमालेको नेपाल समूहका २३ निवर्तमान सांसदको हस्ताक्षर छ ।
त्यसअघि संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियक्तिका लागि १४९ सांसदको समर्थनसहित नेपाली कांग्रेसका सभापति देउवाले गरेको दाबीमा पनि नेपाल समूहका २६ सांसदको हस्ताक्षर थियो । एमाले अध्यक्ष ओलीले भने एमाले र जनता समाजवादी पार्टीको समर्थन रहेको भन्दै प्रधानमन्त्रीमा दाबी पेश गरेका थिए ।
राष्ट्रपतिले दुबैको दाबी नपुगेको निर्णय सुनाएपछि जेठ ७ को मध्यरातमा सरकारको सिफारिसमा प्रतिनिधिसभा भंग गरिएको थियो ।
त्यसविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा ९ असारदेखि निरन्तर सुनुवाई भइरहेको छ । रिट निवेदक र सरकारी पक्षको बहस सकिएको छ,अब एमिकस क्युरीको बहस हुनेछ र केही दिनमा फैसला आउने सम्भावना छ ।
बैठकमा प्रधानमन्त्री ओलीले कोभिड खोप आउनेक्रममा रहेकाले दुई दिनभित्र खोप उपलब्ध हुने बताए । सरकारले खोप ल्याउने सबै प्रबन्ध मिलाए पनि केही विरोधी दलले खोप आउन नदिन प्रयास गरिरहेको प्रधानमन्त्री ओलीले टिप्पणी थियो। बैठकमा महासचिब ईश्वर पोख्रेलले बैठकका प्रस्ताब प्रस्तुत गरेका थिए। बैठक अहिले पनि जारी छ ।


