नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको स्मृति दिवस मनाइँदै

Spread the love

काठमाडौं, साउन ७ (ई–रैवार)

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औँ स्मृति दिवस आज मनाइँदैछ । स्मृति दिवसको अवसरमा नेकपा एमालेले तुलसीलाल स्मृति प्रतिष्ठानमा बिहीबार एक कार्यक्रम आयोजना गरेको छ ।

दिउँसो एक बजे आयोजना हुने कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली समेत सहभागी हुने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

रामेछापको भँगेरीमा विक्रम संवत १९८१ असार १५ गते जन्मिएका पुष्पलालले २००६ साल वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टी स्थापना गरेका थिए । नेपालको वाम प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका पुष्पलालको २०३५ साल साउन ७ गते भारत प्रवासमा रहेको बेला निधन भएको थियो ।

नेपाली क्रान्तिका सिद्धान्तकारका रूपमा परिचित पुष्पलालले आफ्नो जीवनभर नागरिकको स्वतन्त्रताका लागि संघर्ष गरेका थिए । पुष्पलालले विसं २००६ वैशाख १० गते नरबहादुर कर्माचार्य, निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, मोतीदेवी श्रेष्ठसँग मिलेर नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका हुन।

पुष्पलालले स्थापना गरेको नेकपा विभिन्न चरणमा फुटेर विभिन्न कम्युनिष्ट पार्टी बनेका छन् । उनले विश्व कम्युनिस्ट घोषणापत्रलाई २००५ सालमा नेपालीमा अनुवाद गरी प्रकाशन समेत गरेका थिए । पुष्पलाल नेकपाको संस्थापक महासचिव हुन् ।