काठमाडौँ, साउन ३ (ई–रैवार)
प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासको मत पाएका छन्। सर्वोच्च अदालतको फैसलामा टेकेर प्रधानमन्त्री बनेको एक साता नबित्दै कांग्रेस संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्री देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेका हुन्।
आइतवार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकमा प्रधानमन्त्री देउवाले संसदमा रहेका कूल सांसद संख्याको १६५ मत पाएका हुन्। त्यस्तै देउवालाई ८३जना सांसदले विश्वासको मत दिएनन्। साथै एक संसद तटस्थ रहेका थिए । मतदानमा कूल सांसद संख्या २४९ उपस्थित रहेका थिए ।
देउवालाई नेपाली कांग्रेससहित माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चा र एमालेका माधवकुमार नेपाल पक्षका सांसदहरुले मत दिएका छन्। त्यस्तै एमालेको ओली पक्षका केही सांसदले पनि विश्वासको मत दिएका छन्।
एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा लागेका जसपाका महन्थ ठाकुर पक्षका सांसदहरुले समेत साथ दिएपछि उनले सजिलै विश्वासको मत प्राप्त गरेका हुन्। असार २९ गते प्रधानमन्त्री नियुक्त भएका देउवाले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ।
पाँच दलीय गठबन्धनका माओवादी, जसपा, राष्ट्रिय जनमोर्चा र एमालेको नेपाल पक्षको समर्थन पाएपछि देउवाले पुन:स्थापित प्रतिनिधिसभाको पहिलो बैठकमै विश्वासको मत लिने निर्णय गरेका थिए।
विश्वासको मत पाएसँगै देउवाले अब यो प्रतिनिधिसभाको पूरा कार्यकाल सरकार चलाउने छन्। अब प्रतिनिधिसभाको कार्यकाल करिब डेढ वर्ष बाँकी रहेको छ। यो समय गुजारेपछि देउवाले आगामी प्रतिनिधिसभाको निर्वाचन गराएर विदा हुनेछन्।
विश्वासको मत पाउनु अघि प्रधानमन्त्री शेरबहादुर देउवाले आफूले राखेको विश्वासको मत माग्ने प्रस्तावमा समर्थन जनाउने दललाई धन्यवाद व्यक्त दिएका थिए । प्रतिनिधिसभा बैठकमा दलीय रुपमा दलका नेताहरुले समर्थन गर्ने प्रतिवद्धता जनाएपछि संसदमा उठेको जिज्ञासाको जवाफ दिदै प्रधानमन्त्री देउवाले प्रतिनिधिसभा विघटन गर्न कसैले नसकोस् भनेरै संविधानको धारा ७६ उपधारा ५ राखिएको चर्चा गरेका थिए ।
प्रधानमन्त्री देउवाले लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायतको नेपाली भू-भागसहितको नक्सा छाप्ने र भूमि फिर्ता ल्याउने काममा सबै दलको साझा सहयोग रहेको बताए । त्यसकालागि आफू नेतृत्वको सरकारले पनि पहल लिने छ ।
संविधान समावेशी र समानुपातिक चरित्रको भएको प्रष्ट पादै प्रधानमन्त्री देउवाले अझै जनजाति, थारु, मधेसको मुद्दा सम्बोधनका लागि आफूले दलसँग छलफल गर्न तयार रहेको बताए । सबै नेपालीको साझा देश नेपाल भएकाले सबैको माग सम्बोधन गरिने बताएका छन् । सबैको माग सुनुवाई गर्नकैलागि समावेशी संविधान निर्माण गरिएको उनले प्रष्ट पारे ।
अहिले कोरोना महमारी कायमै रहेकाबेला बाढी पहिरोको प्रकोपले समस्या पारिरहेकाले सबैले मिलेर समस्याको समाधानमा लाग्नुपर्ने उनले बताए । विकासभन्दा अघि जनताको जीवन बचाउन आवश्यक भएकाले उनले खोपको उचित प्रबन्ध गरिने बताए । छिमेकी देशसँग राम्रो सम्बन्ध बनाउँदै अन्य देशसँग पनि सहकार्य सुमधुर बनाउनेमा ध्यान दिने उनले प्रष्ट पारेका छन् ।
प्रधानमन्त्री देउवाले अगाडिका दिन चुनौतिपूर्ण रहेकाले सबै दल सँगै मिलेर जानुपर्ने आवश्यकता रहेको बताए । सकेसम्म राष्ट्रिय सहमतीको सरकार बनाउँन आफु तयार भएकोले एमालेलाई सहमतिमा आउन आव्हान गरे ।


