स्थानीय तहको निर्वाचनको आवश्यक तयारी अन्तिम चरणमा : निर्वाचन आयोग

Spread the love

काठमाडौं : वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा थप दुई लाख युवाको मताधिकार सुनिश्चित भएको निर्वाचन आयोगले जनाएको छ । संविधान बमोजिम १८ वर्ष उमेर पूरा भएका नागरिकले संघीय कानून बमोजिम मतदानको अधिकार उल्लेख गरेको अवस्थामा अन्तिम नामावलीमा नाम समावेश गर्ने प्रयोजनका लागि १८ वर्षको उमेर पूरा हुने निर्दिष्ट मिति आयोगले परिवर्तन गरेसँगै थप दुई लाख मतदाता थपिएको हो ।

यसअघि आयोगले स्थानीय तहको निर्वाचनमा सरकारले निर्वाचनको मिति घोषणा गरेको दिनलाई आधार मान्ने गरिएकोमा आसन्न निर्वाचनका लागि १८ वर्ष उमेर पुग्ने दिन निर्वाचनको अघिल्लो दिन अर्थात् २०७९ साल वैशाख २९ लाई मान्ने निर्दिष्ट गरेको आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले नियमित पत्रकार सम्मेलनमा बताए ।

अहिले मतदाता शिक्षा सामाग्री तयार गरी प्रकाशन गर्ने निर्वाच्न आचारसंहिता, निर्वाचन चिन्ह र निर्वाचन प्रशिक्षण कार्यक्रम सम्बन्धित कामहरु भइरहेको पौडेलले बताउनुभयो । यससँगै आगामी स्थानीय तहको निर्वाचनको आवश्यक तयारी अन्तिम चरणमा पुगेको उनको भनाई छ ।

निर्वाचनका लागि करिब १२ अर्ब बजेटको स्वीकृतिको प्रक्रिया अगाडि बढेको र सो अगावै आवश्यक सामानको खरीद प्रक्रिया अगाडि बढाइएको पनि उहाँले बताए । यससँगै आयोगका गतिविधिबारे हप्तामा बिहीबार र सोमबार पत्रकार सम्मेलन गरिने पनि उनले जानकारी दिए ।

कानुनमा व्यवस्था भए बमोजिम निर्वाचनका तयारीका लागि कम्तिमा १२० दिनको आवश्यकता छ । तर, यसपटक सरकारले निवार्चनको मिति घोषणा गर्दा ९५ दिन मात्रै बाँकी रहेको थियो ।निर्वाचनमा अन्तिम मतदाता नामावलीमा नाम समेट्ने विषयमा यसपटक ऐतिहासिक निर्णय गरिएको आयोगले जनाएको छ ।