काठमाडौं, असार २८ (ई–रैवार)
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले लोकतन्त्र, लोकतान्त्रिक संविधानलाई जोगाएको बताएका छन् । सभापति देउवाले आज अपरान्ह विज्ञप्ति निकालेर सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना फैसलाले लोकतन्त्र, लोकतान्त्रिक संविधानलाई जोगाएको बताएका हुन् ।
सभापति देउवाले विज्ञप्ति जारी गर्दै भनेका छन्- ‘ सम्मानित सर्वोच्च अदालतले नेपाली काँग्रेस लगायत ५ दलले दर्ता गरेको रीट निवेदन उपर गरेको फैसलाको हार्दिक स्वागत गर्दछु ।’ लोकतन्त्र र लोकतान्त्रिक संविधान रक्षाका लागि सरिक सबै पक्षलाई बधाई समेत दिएका छन् ।
साथै सभापति देउवाले सर्वोच्चको फैसला ऐतिहासिक भनेका छन् भने फैसलाको स्वागत गरेका छन्। उनले यो फैसलाले लिक बाहिर धकेलिएको संविधानलाई ट्रयाकमा ल्याएको र स्वतन्त्र न्यायपालिकाको आस्था र विश्वासलाई थप अभिवृद्धि गरेको बताएका छन् ।
उनले भनेका छन्- ‘लोकतन्त्र र लोकतान्त्रिक संविधान रक्षाका लागि विभिन्न ढंगले आन्दोलनमा सरिक राजनैतिक दलहरु, सबै कानून व्यवसायीहरु, भ्रातृ र शुभेच्छुक संस्थाहरु, नागरिक आन्दोलन र सजग सञ्चारमाध्यम एवम् स्वदेश र विदेशमा रहेका सबै नेपाली दिदीबहिनी–दाजुभाईलाई बधाई ज्ञापन गर्दछु ।’
सोमबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्दै मंगलबार साँझ ५ बजेसम्म प्रधानमन्त्रीमा देउवालाई नियुक्त गर्न परमादेश जारी गरेको छ । सभापति देउवाले सर्वोच्च अदालतबाट प्रतिनिधि सभा पुनर्स्थापना भएको विषयलाई जित र हारका रूपमा समेत नलिन आग्रह गरेका छन्।
देश र जनताको हितमा संयम र एकताका साथ समर्पित भएर कार्य गर्न फैसलाले अझै जिम्मेवार बनाएको देउवाले उल्लेख गरेका छन्। ‘देश र जनताको हितमा संयम र एकतासाथ समर्पित भएर कार्य गर्न हामी सबैलाई फैसलाले अझ जिम्मेवार बनाएको छ।
कसैले पनि यसलाई ब्यक्तिगत जीत हारको बिषयका रूपमा नलिई लोकतन्त्र, लोकतान्त्रिक संविधान अनि समग्रमा देश र जनताको हितमा उपयोग गरेर जानुपर्दछ भन्ने अपील र आग्रह पनि म गर्न चाहन्छु,’ देउवाले भनेका छन्।
सर्वोच्चले आज प्रतिनिधि सभा पुनर्स्थापना गर्दै देउवालाई दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो। सर्वोच्चको फैसलापछि प्रतिक्रिया दिँदै सभापति देउवाले भने, ‘अदालतले लोकतन्त्र जोगायो । न्यायालय स्वतन्त्र छ भन्ने पुष्टि भएको छ। अब पाँच दल मिलेर सरकार बनाउँछौं ।’



