पूर्व प्रधानमन्त्री भट्टराईले भने- राष्ट्रपति र प्रधानमन्त्रीमा नैतिकता छ भने तत्कालै राजीनामा दिनुपर्छ (विपक्षीको प्रतिकृया सहित)

पूर्व प्रधानमन्त्री भट्टराईले भने- राष्ट्रपति र प्रधानमन्त्रीमा नैतिकता छ भने तत्कालै राजीनामा दिनुपर्छ (विपक्षीको प्रतिकृया सहित)
Spread the love

काठमाडौं, असार २८ (ई–रैवार)

पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रपति र प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । सर्वोच्चको फैसला आए लगत्तै पूर्व प्रधानमन्त्री भट्टराईले सर्वोच्चलाई धन्यवाद दिँदै राष्ट्रपति र प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने बताएका हुन् ।

उनले भने, ‘सर्वोच्चको फैसला सम्मानयोग्य छ । र, यो फैसलासँगै राष्ट्रपति र प्रधानमन्त्रीले आफ्नो नैतिकता गुमाइसकेका छन् । यदि उहाँहरूसँग अलिकति पनि नैतिकता बाँकी छ भने तत्कालै राजीनामा दिनुपर्छ । किनभने उहाँहरूले राष्ट्रपति र प्रधानमन्त्रीको कुर्सीमा बस्ने नैतिकता गुमाइसक्नु भएको छ ।

सर्वोच्चले गरेको फैसलाले संविधान र लोकतन्त्रको जित भएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन्। प्रतिनिधि सभा पुनर्स्थापना गर्ने र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएपछि अध्यक्ष प्रचण्डले यस्तो प्रतिकृया दिएका हुन।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सर्वोच्च अदालतले गरेको फैसला पछि अब विपक्षी गठबन्धनको सहकार्य चुनावसम्मै जारी रहने बताएका छन् । फैसलालाई आम नेपाली जनताले स्वागत गर्ने प्रक्रिया शुरु भइसकेको बताउँदै प्रचण्डले यसको कार्यान्वयन हुनेमा आफू विश्वस्त रहेको बताएका छन् ।

‘पटक-पटकको संसद विघटनले मुलुक निकै अप्ठेरो परिस्थितिबाट गुज्रिरहेको थियो। आज सर्वोच्चले जो फैसला गरेको छ, त्यसले संविधान, राष्ट्रियता, लोकतन्त्र र जनताको हितको पक्षमा सही निर्णय गरेको छ। फैसलालाई म स्वागत गर्छु,’ प्रचण्डले भने,‘संवैधानिक इजलास, न्यायाधीश, प्रधानन्यायाधीशसहित सबैलाई धन्यवाद र बधाई दिन चाहन्छु।’

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले संविधान रक्षा गर्ने अभियान सफल भएको बताएको छ । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संक्षिप्त प्रतिक्रिया दिँदै संविधान रक्षा गर्ने अभियान सफल भएको बताए ।

“संविधान रक्षा गर्ने अभियान सफल भएको छ । संविधान र व्यवस्थालाई दुर्घटनामा लैजाने प्रयास असफल भएको छ,” उनले भने, “यसका निम्ति सर्वोच्चका न्यायमुर्तिलाई धन्यवाद र मेरा सभापति शेरबहादुर देउवालाई बधाई ।”

त्यस्तै नेकपा एमालेका वरिष्ठ माधवकुमार नेपालले सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने फैसलाले संविधान र संसदलाई बचाएको बताएका छन्।

वरिष्ठ नेता नेपालले आजको सर्वोच्चको फैसलाले चार वटा सन्देश दिएको बताए। पहिलो, यसले नेपालको संविधानमा रहेका कतिपय व्याख्या गर्नुपर्ने कुरामा स्पष्टता ल्याइदिएको छ।

‘अर्को यो फैसलाले प्रधानमन्त्रीले जथाभावी गर्न पाउँदैनन् र राज्यका अन्य निकाय पनि संविधानको दायरामा बस्नुपर्छ भनेको छ,’नेपालले भने।

तेस्रो, यो फैसलाले हाम्रो संविधान र संसदलाई जोगाएको र जीवन दिएको नेपालले बताए। ‘चौंथो कुरा, दुबै पटक नै प्रतिनिधि सभा विघटन हुँदा सर्वोच्चले नै जोगाइदिएको छ। सर्वोच्च अदालतले नै संविधान र संसदको रक्षा गरेको छ,’ नेपालले भने,‘यसले सर्वोच्च अदालतको भूमिका र मर्यादालाई माथि उठाएको छ।’