काठमाडौं, असार २७ (ई–रैवार)
नेकपा (एमाले) भित्र देखिएका विवाद समाधानका लागि गठित कार्यदलको बैठक सिंहदरबारमा जारी रहेको छ । विहान ८ बजे बैठक बस्ने भनिएपनि वरिष्ठ नेता माधव नेपाल पक्षीय कार्यदल सदस्य आन्तरिक छलफलमा जुटे लागेपछि एक घण्टा ढिलागरी बैठक सुरु भएको हो ।
कार्यदलका सदस्यहरुले नेता नेपालसँग वार्तामा भएको प्रगतिबारे जानकारी दिएका थिए । स्रोतका अनुसार कार्यदलले आजै मस्यौदा टुंग्याउने तयारी गरेको छ । आजको बैठकमा नेताहरूले विवाद समाधानको घोषणा हुने बताएका छन् ।
कार्यदलको बैठक सकिएपछि सहमति सार्वजनिक हुने र आजै पार्टीको स्थायी कमिटी बैठक बसेर अनुमोदन गर्ने एमालेका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
विवाद समस्या समाधान गर्दै दलले आइतबार पार्टीका आमकार्यकर्तालाई एकताको सन्देश दिने वरिष्ठ नेता माधवकुमार नेपाल समूहका कार्यदल सदस्य गोकर्ण विष्टले जानकारी दिए ।
अन्य कार्यदलका सदस्यहरू तत्काल मिल्ने बताइरहे पनि वरिष्ठ नेता माधव नेपाल भने शक्ति बाँडफाडमा कुरा नमिल्दासम्म सहमति गर्ने पक्षमा देखिन्नन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेता नेपाललाई सर्वोच्च अदालतमा बुझाएको हस्ताक्षर के हुन्छ भन्ने प्रश्न गरेका छन् । दाहालले भेटेर र देउवाले टेलिफोनमा यस्तो जिज्ञासा राखेका हुन् ।
संविधानको धारा ७६ को उपधारा ५ अनुरुप कांग्रेस सभापति देउवाले प्रधानमन्त्रीमा दाबी गर्दा एमालेको नेपाल समूहका २३ जनाले हस्ताक्षर गरेका छन् ।
प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले त्यो हस्ताक्षर फिर्ता गराउन अनेकन प्रयास गरिरहेका छन् । तर नेपाल भने सर्वोच्चले फैसला नगर्दासम्म रोकिने पक्षमा देखिएका छन् । सर्वोच्चले प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटको फौसला सुनाउने मिति सोमबारका लागि तोकेको छ ।


