काठमाडौं, असार २७ (ई–रैवार)
नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दालाई प्रभावित पार्ने गरी सहमति नहुने बताएका छन् । सिंहदरबारमा कार्यदलस्तरीय बैठकअघि भेट्न आएका आफू पक्षीय कार्यदल सदस्यसँग नेपालले यस्तो धारणा राखेका हुन् ।
कोटेश्वरस्थित निवासमा भेट्न आएका आफू पक्षीय कार्यदल सदस्यहरुलाई नेता नेपालले सहमतिको अन्तिम ड्राफ्ट लेख्दा सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा कुनै प्रभाव पार्ने भाषा नराख्न भनेको एक जना कार्यदल सदस्यले जानकारी दिए।
‘अदालतलाई प्रभावित बनाउने गरी कुनै सहमति हुँदैन । हस्ताक्षर फिर्ता हुन सक्दैन । यो मेरो बटमलाइन हो’, नेता नेपालले भने । कार्यदलका सदस्यहरुले बिहान नेता नेपालसँग छलफल गरेका थिए ।
कार्यदल स्तरमा सहमतिमा हस्ताक्षर गर्ने कोसिस भइरहेका बेला नेता नेपालले अदालतलाई प्रभाव नपार्ने गरी अन्य विषयमा भने सहमति हुन सक्ने जनाउ दिएका छन् । नेता नेपालले कार्यदलले तयार पारेको मस्यौदामा अदालतलाई प्रभाव नपार्ने भाषा राखेर परिमार्जनको खाँचो रहेको समेत बताएका छन् ।
‘अदालतको मुद्दालाई तलमाथि पार्ने गरी हतारमा सहमति गर्नुपर्ने कुनै कारण छैन । तपाईंहरूले कोसिस गर्नुभएको छ । मस्यौदामा केही समस्या छन् । थप परिमार्जन गर्नुस्,’ कार्यदल सदस्यलाई नेपालले दिएको निर्देशन उद्धृत गर्दै उनीनिकट एक स्थायी कमिटी सदस्यले बताए ।
एमालेको एकताका लागि कार्यदलले तयार पारेको मस्यौदामा सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने शब्दावली राखिएको भन्दै नेता नेपालले फिर्ता पठाइदिएका हुन् ।
शनिबार कार्यदलले तयार पारेको मस्यौदामाथि सहमति जुटाउन नेपाल पक्षका कार्यदल सदस्यहरु आइतबार बिहान नेपाल निवास कोटेश्वर पुगेका थिए । नेता नेपालले मस्यौदामा रहेको एक शब्दावलीमा असहमति जनाएपछि उनीहरु सिंहदरबार फर्किएका छन् । अहिले सिंहदरबारमा कार्यदलको बैठक बसिरहेको छ ।
कार्यदलका सदस्यहरुले आजै सहमतिको सम्भावना रहेको बताएका छन् । तर नेता नेपालले सर्वोच्च अदालतको मुद्दामा संलग्न हस्ताक्षर फिर्ता लिएर सहमति नहुने बताए । अदालतलाई प्रभाव नपार्ने गरी अन्य विषयमा सहमतिको निम्ति तयार रहेको उनले बताए ।
नेपाल समूहका २३ जना प्रतिनिधि सभा सदस्यले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हालेको मुद्दामा हस्ताक्षर गरेका छन्। उनको मुद्दामा संवैधानिक इजलासमा सुनुवाइ सकिएको छ भने अर्को पेसी भोलि (सोमबार)लाई तोकिएको छ।
नेता नेपालले कार्यदल सदस्यहरूसँग पार्टीलाई सहमतिमा चलाउनु पर्ने कुरा पनि सहमतिमा हुनु पर्ने बताएका छन्। ‘आउने दिनमा पार्टी सहमतिमा चल्ने पत्याभूति हुनु पर्ने उहाँको कुरा छ,’ एक कार्यदल सदस्यले भने।
प्रतिनिधिसभा विघटनसम्बन्धी फैसला सोमबार आउने भएकाले त्यसअघि नै एमाले एक रहेको सन्देश दिने प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली समूहको योजना छ । तर, नेपालनिकट एक नेताका अनुसार उनले अदालतलाई प्रभावित बनाउने गरी सहमति र रिटमा प्रयोग भएका हस्ताक्षर फिर्ता नहुने आफ्नो बटमलाइन रहेको बताएका छन् ।


