जसपाको संसदीय दलको बैठक जारी, कांग्रेस र जसपासँग वार्ता गर्ने माओवादी केन्द्रको निर्णय

जसपाको संसदीय दलको बैठक जारी, कांग्रेस र जसपासँग वार्ता गर्ने माओवादी केन्द्रको निर्णय
Spread the love

काठमाडौं, फागुन २५ (ई-रैवार) 

जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको पहिलो बैठक सिंहदरबारस्थित दलको कार्यालयमा चलिरहेको छ । संसदीय दलको विधान पारित गरेर दलको नेता चयनका लागि जसपा संसदीय दलको बैठकमा छलफल भइरहेको हो ।

समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) मिलेर बनेको जसपाले पार्टी एकीकरणपछि पहिलो पटक मंगलबार संसदीय दलको बैठक बसेको हो । दुई पार्टीबीच गत वैशाख ११ गते एकीकरण भएको थियो ।

बैठकको मुख्य कार्यसूची संसदीय दलको विधान पारित गर्ने र दलको नेता चुन्‍ने रहेको छ । स्रोतकाअनुसार बैठकले वरिष्ठ नेता राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गर्ने भएको छ ।

“हामी बीच पार्टी एकीकरणकै समयमा राजेन्द्र महतोजीलाई दलको नेता बनाउने आन्तरिक सहमति भएको थियो । त्यही सहमतिअनुसार सहमतिमै उहाँलाई बैठकले दलको नेता चयन गर्छ,” स्रोतले भन्यो,”संसदीय दलको विधान पनि पारित गर्ने कार्यसूची छ । समसामयिक राजनीतिक घटनाक्रमका बारेमा पनि छलफल हुन्छ ।”

त्यसैगरि सर्वोच्च अदालतको फैसलासँगै नेकपा एकता बदर भइ एमाले र नेकपा माओवादी केन्द्र पुनः अस्तित्वमा आएपछि सत्ता समीकरणमा थप बलियो बन्‍न गएको जसपा संसदीय दलको बैठकमा वर्तमान राजनीतिक परिवेशबारे पनि छलफल हुने जनाइएको छ ।

उता नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सम्पन्न भएको छ । नेकपा माओवादी केन्द्रले सरकार गठनबारे नेपाली कांग्रेस र जनता समावादी पार्टीसँग वार्ता गर्ने भएको हो । मंगलबार बसेको स्थायी कमिटी बैठकले तत्काल वार्ता अगाडि बढाउने निर्णय गरेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन ।

नेता श्रेष्ठले निर्वाचन आयोग र सर्वोच्च अदालतले माओवादी केन्द्र र एमालेलाई मिलाउने तथा जुटाउने नभई आफैँले गर्ने बताए। सर्वोच्च अदालतले नेकपा एकता भंग गरेसँगै नेकपाका दुवै घटक एमाले र माओवादी अलगअलग भएका छन्। आआफ्नै दलका रुपमा अघि बढेपछि माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बुधबार बस्ने भएको छ।

-फाइल तस्बिर