काठमाडौं, असार १६ (ई–रैवार)
नेपालमा आज थप २८९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७१८७ जनामा गरिएको पीसीआर परीक्षणमा १८८९ जना र ४३८१ जनामा गरिएको एन्टिजेन परीक्षणमा १००३ जनागरी २८९२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यो संख्या मंगलबार संक्रमण पुष्टि भएको २६३६ भन्दा २५६ जनाले बढी हो । त्यस्तै सोमबार २,४४४ जना संक्रमित भेटिएकामा आइतबार १,९२० जनामा मात्र भेटिएका थिए । आइतबारको तुलनामा बुधबार संक्रमितको संख्या झण्डै एक हजार जना बढेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलका अनुसार योसँगै नेपालमा पीसीआर परीक्षणमा कोरोना देखिनेको संख्या ६ लाख ३८ हजार ८०५ पुगेको छ । अहिले नेपालमा कोरोना संक्रमणदर २६ प्रतिशत पुगेको छ । पछिल्लो २४ घण्टामा ३ हजार ५९७ जना निको भएको छ । हालसम्म निको हुने संख्या ५ लाख ९६ हजार १३२ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार ५६१ रहेको छ । जसमध्ये ३० हजार ५४४ जना होम आइसोलेसनमा र ३०१७ जना संस्थागत आइसोलेसनमा छन् ।
मुलुकभरमा ३३ हजार ५ सय ६१ जना सक्रिय संक्रमित रहेको छ । हाल १७ जिल्लामा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४१ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म मृतकको संख्या ९ हजार ११२ पुगेको छ।


