३३ किलो सुन प्रकरण, आरोपीलाई यूएईबाट नेपाल ल्याइयो

३३ किलो सुन प्रकरण, आरोपीलाई यूएईबाट नेपाल ल्याइयो
Spread the love

 

काठमाडौं, असार २७ (ई-रैवार)

३३ किलो सुन तस्करी प्रकरणका एक आरोपीलाई नेपाल ल्याइएको छ । इन्टरपोलमा रेडकर्नर नोटिस जारी भएपछि यूएईबाट पक्राउ परेका ३३ किलो सुन तस्करी प्रकरणका एक आरोपीलाई नेपाल ल्याइएको हो ।

यूएईमा समातिएका हरिशरण खड्कालाई आवश्यक कानूनी प्रक्रिया पुरा गरेर शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै गौशाला प्रहरीको जिम्मा लगाइएको बरिष्ठ प्रहरी उपरीक्षक रामकृपाल साहले बताए । उनी २०७५ माघमा यूएईमा समातिएका थिए । खड्कासहित प्रकरणमा संलग्न १२ जनाविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मा रेड नोटिस जारी भएको थियो ।

काभ्रे घर भएका ४२ वर्षीय खड्का एक दशकयता यूएईमै बस्दै आएका थिए । वैदेशिक रोजगारीका लागि गएका उनी पछिल्ला वर्षहरुमा जागिर छाडेर सुन तस्करीमा लागेको अनुसन्धानकर्ताहरु बताउँछन ।

यसअघि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले २१ पुस ०७३ मा बरामद गरेको साढे ३३ किलो सुन प्रकरणमा उनी मुछिएका थिए । नेपालमा रहेका सुन व्यवसायीसँग मिलेर उनले दुबईबाट सुन पठाउने काम गर्दै आएको खुलेको थियो ।

पछिल्ला वर्षहरुमा मोरङ, उर्लाबारीका चुडामणि उप्रेती ‘गोरे’ मार्फत उनले सुन नेपाल भित्र्याउने गरेको उच्च स्तरीय सुन अनुसन्धान समितिले सार्वजनिक गरेको थियो ।