एजेन्सी, असार ८ (ई-रैवार)
युरोपेली च्याम्पियनसिप अन्तर्गत समूह ए र समूह सी को सम्पूर्ण खेल समाप्त भइसकेको छ । समूह ए बाट इटाली र समूह सी बाट नेदरल्यान्ड्सले शत प्रतिशत जितको नतिजा निकाल्दै अन्तिम १६ को यात्रा तय गरेका हुन् ।
इटालीले अब अन्तिम १६ मा समूह सी को दोस्रो स्थानमा रहेको अष्ट्रियासँग खेल्नेछ । अष्ट्रियाले सोमबार भएको खेलमा युक्रेनलाई १-० ले पराजित गर्दै पहिलो पटक नकआउट चरणको यात्रा तय गरेको थियो । अष्ट्रियाले ३ खेलमा २ अंक जोड्दै दोस्रो स्थान हासिल गर्दा ३ खेलमा ९ अंक जोडेको नेदरल्यान्ड्स शीर्ष स्थानमा रहयो ।
नर्थ म्यासेडोनियालाई ३-० ले पराजित गर्दै डच टोलीले समूह विजेताको रुपमा अन्तिम १६ मा स्थान बनाएको हो । ३ अंक जोडेको युक्रेन भने अब अन्य समूहको नतिजा कुरिरहेको छ । नर्थ म्यासेडोनिया पहिलो सहभागितामा अंकविहिन रहँदै घर फर्कनुपर्यो ।
अब नेदरल्यान्ड्सले अन्तिम १६ मा तेस्रो स्थान हासिल गर्ने टोलीको सामना गर्नेछ । कुन टोलीसँग खेल्ने भन्ने टुंगो पछि लाग्नेछ । वेल्सले भने समूह बी को उपविजेतासँग खेल्दैछ । समूह बीबाट सबै टोलीको अघि बढ्ने सम्भावना रहेको छ । समूह बीमा आज बेल्जियम र फिनल्यान्ड तथा रसिया र डेनमार्क भिड्नेछन् ।


