काठमाडौँ, असार ६ (ई-रैवार)
विपक्षी गठबन्धनका शीर्ष नेताबीच आज छलफल भएको छ । काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आइतबार अपरान्ह ५ बजे गठबन्धनका नेताहरुबीच छलफल भएको हो ।
बैठकमा ३१ जेष्ठ यताका समस्त घटनाको समीक्षा गरिएको महामन्त्री पूर्णबहादुर खड्काले बताए । खड्काका अनुसार बैठकमा गठबन्धन मजबुत, विश्वासिलो र खँदिलो बनाउने कुरामा छलफल भएको छ । उनले भने, ‘नयाँ बनेका प्रदेश सरकारलाई जनताको पक्षमा, जनताको सेवामा कसरी प्रभावकारी बनाउने, कुन तरिकाले आगाडि बढ्ने भन्ने विषयमा छलफल भयो ।’
माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफ्ना पार्टी पंक्तिलाई बाढी र पहिरो क्षेत्रमा उद्दार र राहतमा खट्न निर्देशन दिने निर्णय गरेका बताए । ‘बाढी र पहिरोबाट ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली, परिवारमा समवेदना प्रकट गर्ने निर्णय भएको छ । पार्टीका कार्यकर्तालाई उद्दार र राहतमा खट्न निर्देशन दिने कुरा भएको छ ।’ श्रेष्ठका अनुसार सरकारले तदारुकताका साथ काम गर्न नसकेको गठबन्धनको ठहर छ ।
बैठकले सरकारलाई कोरोनाविरुद्धको खोप छिटोभन्दा छिटो ल्याउन दबाब दिने निष्कर्ष निकालेको छ । काँग्रेस महामन्त्री खड्काले भने, ‘कोरोनाविरुद्धको खोप छिटोभन्दा छिटो ल्याउन दबाब दिने र ध्यानाकर्षण गराउने विषयमा छलफल भयो ।’
बैठकमा काँग्रेस सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेता देव गुरुङ, एमालेका वरिष्ठ नेता माधव नेपाल, उपाध्यक्ष भीम रावल, जसपाका अध्यक्ष उपेन्द्र यादव, बाबुराम भट्टराई, नेताहरु राजेन्द्र श्रेष्ठ, अशोक राई, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल सहभागी थिए ।
काँग्रेस केन्द्रीय कार्यसमितिका कारण गठबन्धनको बैठक बस्न नसकेको भन्दै आजको बैठक त्यसैको निरन्तरता भएको काँग्रेस महामन्त्री खड्काले जानकारी दिएका छन् । ३१ जेष्ठमा एमाले वरिष्ठ नेता माधव नेपालको निवास कोटेश्वरमा भएको गठबन्धन बैठकपछि अर्को बैठक बस्न सकेको थिएन ।


