डडेल्धुरामा युवती मृत फेला परेको घटना अनुसन्धान गर्न दुई टोली परिचालन

Spread the love

धनगढी, असार ६ (ई-रैवार)

डडेल्धुरामा युवती मृत फेला परेको घटनाको अनुसन्धान गर्न प्रहरीले दुई वटा टोली परिचालन गरेको छ । डडेल्धुरामा मृत फेला परेकि युवतीको घटना अनुसन्धान गर्न प्रदेश प्रहरी कार्यालयले धनगढीबाट दुई टोली गठागरी परिचालन गरेको हो ।

शनिबार डडेल्धुराको परशुराम नगरपालिका(८ जमरानी स्वास्थ्य केन्द्रमा कार्यरत २६ वर्षीया अस्मिता धामी मृत भेटिएको घटनाको अनुसन्धानका लागि संघीय प्रहरी इकाइ कार्यालय र प्रदेश प्रहरी कार्यालयबाट छुट्टाछुट्टै टोली खटाइएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक योगेन्द्र थापाले बताए ।

प्रवक्ता प्रहरी उपरीक्षक थापाका अनुसार घटनाको अनुसन्धानका लागि संघीय प्रहरी इकाइ कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मण शाहीको नेतृत्वमा र सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआईटी) का नायब निरीक्षक पदम थापाको कमाण्डमा टोली परिचालन गरिएको छ। दुवै टोली आइतबार धनगढीबाट डडेल्धुरातर्फ हिँडेका छन् ।

यही असार २ गते स्वास्थ्य सामग्री पुर्‍याउन जोगबुढा अस्पताल जाने क्रममा बेपत्ता भएकी धामीको शनिबार स्थानीय हट्वानी सामुदायिक वनमा शव फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले घटनास्थलको मुचुल्का उठाउने कार्य सकेर शव परीक्षणका लागि अहिले जोगबुढा अस्पतालमा राखिएको जानकारी दिएका छन् ।

प्रहरी नायब उपरीक्षक नेपालले मृतकको शरीरमा बाहिरी देखिने चोट पटक नदेखिए पनि हत्याको आशङ्कामा अनुसन्धान अगाडि बढाइएको बताए । शव परीक्षणको रिपोर्ट प्राप्त भएपछि अनुसन्धानमा सहयोग पुग्ने विश्वास गरेको उनले बताए ।