प्रदेशसभा बैठकमा वैद्यले भने- आवेशमा आएर बोलें, आत्मालोचित छु

Spread the love

काठमाडौं, जेठ २९ (ई-रैवार)

बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले प्रदेशसभाको बैठकमा आफ्नो अभिव्यक्तिप्रति आत्मालोचना गर्दै माफी मागेका छन् । प्रदेशसभाको आज बसेको बैठकमा बोल्दै वैद्यले शुक्रबारको बैठकमा आफूले प्रधानमन्त्री केपी ओलीको प्रवृत्तिबाट आजित भएका कारण आवेगमा उक्त शव्दहरु प्रस्तुत भएको भन्दै माफी मागेका हुन् ।

प्रदेशसभा सदस्य वैद्यले आफ्नो अभिव्यक्ति प्रदेशसभाको रेकर्डबाट हटाउन माग समेत गरेका छन् । आजको प्रदेशसभामा उनले आफ्नो अभिव्यक्ति रेकर्डबाट हटाउन सभामुखसँग आग्रह गरेका हुन् ।

बिहीबारको प्रदेशसभा बैठकमा उनले भनेका थिए, “प्रधानमन्त्री ओलीले आफ्नो सत्ता बचाउन जे कुरामा पनि सम्झौता गरिराखेका छन्, यो समयमा यदि खड्ग ओलीलाई यसरी नै छोड्ने हो भने देशै खाइदिने सम्भावना छ । त्यसैले मेरो आग्रह, यो देश बचाउन नाथुराम गोड्से आवश्यक पर्यो । कोही नाथुराम गोड्से बन्न तयार छैन भने मै बन्दिन्छु ।”

शुक्रबारको बैठकमा उनले प्रधानमन्त्रीको मनोमानी रोक्न नाथुराम गोड्सेको आवश्यकता रहेको र आवश्यकता परे आफू गोड्से बन्न तयार रहेको अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्तिपछि उनलाई विभिन्न पार्टीका नेता तथा कार्यकर्ताले कारबाही गर्न माग गरेका छन् ।

एमालेले प्रधानमन्त्रीको हत्याको धम्की दिएको भन्दै भत्र्सना गरेको छ । उनको सो अभिव्यक्तिको चौतर्फी विरोध भएको थियो भने उनकै पार्टी काँग्रेसले समेत अभिव्यक्ति फिर्ता लिन निर्देशन दिएको थियो ।