काठमाडौं, जेठ २८ (ई-रैवार)
सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको बैठक सुरु भएको छ । सभामुख सापकोटाले बोलाएको प्रधानमन्त्रीसहित राजनीतिक दल र पूर्वप्रधानमन्त्रीहरुको बैठक संघीय संसद भवन नयाँ वानेश्वरमा सुरु भएको हो ।
सभामुख सापकोटाले समसामयिक विषयमा छलफलका लागि बैठक डाकेका हुन् । बैठकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, जसपा अध्यक्ष उपेन्द्र यादव, डा बाबुराम भट्टराई, नेमकिपा नेता प्रेम सुवाल सहभागी छन् ।
सभामुखले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीलाई पनि निमन्त्रणा गरिएको थियो । प्रधानमन्त्री ओलीलाई निमन्त्रणा पठाए पनि उनी सहभागी भएनन् । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनाल भने अनलाइन माध्यमबाट सहभागी भएको सभामुखको सचिवालयले जनाएको छ ।
प्रतिनिधिसभा दोस्रोपटक विघटन भएपछि सभामुखले पहिलोपटक सर्वदलीय बैठक बोलाएका हुन् । यसअघि उनले पूर्वसभामुख, कानुन व्यवसायी, राजनीतिक दलका नेतालगायतसँग परामर्श गरेका थिए । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ८ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।


