जनकपुरधाम, जेठ २८ (ई-रैवार)
पोखरीमा डुबेर एकै गाउँका पाँच बालिकाको मृत्यु भएको छ । घर नजिकैको पोखरीमा नुहाउन गएका बेला धनुषाको मुखियापट्टी मुसहरनियाँ गाउँपालिका(६ का बालिका पोखरीमा डुबेर मृत्यु भएको हो ।
धनुषाका प्रहरी प्रवक्ता मकेन्द्र कुमार मिश्रका अनुसार धनुषाको दक्षिणी भेग नेपाल–भारतको सिमानामा पर्ने मुखियापट्टी मुसहरनिया गाउँपालिका–६ स्थित स्थायनीय हुलास यादवको खेतमा खनिएको करिब नौ फिट गहिरो पोखरीमा पौडी खेल्ने क्रममा डुबेर उनीहरूको मृत्यु भएको हो ।
बालबालिकाको डुबेको खबरपछि प्रहरीको टोली घटनास्थल पुगेको थियो । ‘अहिलेसम्म ५ जना बालिकाको शव पोखरीबाट निकालेका छौं’ घटनास्थल पुगेका प्रहरी प्रवक्ता मिश्रले भने।
मृत्यु हुनेमा स्थानीय पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मीनिया, योगेन्द्र भगतकी १० वर्षीया छोरी चन्द्राकुमारी, राजगिर पुर्वेकी १३ वर्षीया छोरी मन्जु, जगरनाथ ठाकुरकी १२ वर्षीया नातनी चाँदनी र उत्तिम साहकी १२ वर्षीया छोरी ललिता रहेको प्रहरीले जनाएको छ ।


