पोखरा, जेठ २८ (ई-रैवार)
गण्डकी प्रदेशमा सरकार गठनका लागि विपक्षी गठबन्धनले आजै दाबी पेस गर्ने भएको छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलद्वारा २४ घण्टाभित्र नयाँ सरकार गठनका लागि आह्वान गरेपछि विपक्षी गठबन्धनले आजै दाबी पेस गर्ने भएको हो ।
संविधानको धारा १६८(३) अनुसार नियुक्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएपछि १६८(५) अनुसार सरकार गठनको प्रक्रिया सुरु भएको हो । प्रदेश प्रमुख पौडेलले २४ घण्टाको समय दिएर मुख्यमन्त्री नियुक्तिका लागि आधार पेश गर्न विपक्षी गठबन्धनलाई आह्वान गरेकी हुन् ।
नेपाली काँग्रेस, माओवादी केन्द्र, जसपा र जनमोर्चा सम्मिलित गठबन्धनका बहुमत सांसद शशरीर शुक्रबार अपरान्ह ५ बजेपछि प्रदेश प्रमुखको कार्यालय जाने काँग्रेस सांसद विन्दुकमार थापाले जानकारी दिएका छन् । नयाँ सरकार गठनको दाबीसहित गण्डकी प्रदेशमा बहुमत सदस्य प्रदेश प्रमुखकहाँ सशरीर उपस्थित हुने भएका छन् ।
त्यसका लागि प्रदेश प्रमुख पौडेलसँग समय पनि मागिएको थापाको भनाइ छ । थापाका अनुसार काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्रीको रुपमा प्रस्तावित गरेर दाबी पेस गर्न लागिएको हो ।
काँग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जसपाका २ र स्वतन्त्र सांसद दिपक दीपक मनाङे गरी कुल ३१ सांसद हस्ताक्षरसहित दाबी पेस गरिँदैछ । कांग्रेस सांसद कुमार खड्काका अनुसार उनीहरु पाँच बजे प्रदेश प्रमुखकहाँ जादै छन् ।


