मुख्यमन्त्री भट्टले आज विश्वासको मत लिँदै, विपक्षमा मतदान गर्न एमालेको निर्देशन

मुख्यमन्त्री भट्टले आज विश्वासको मत लिँदै, विपक्षमा मतदान गर्न एमालेको निर्देशन
Spread the love

धनगढी, जेठ २५ (ई-रैवार) 

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आज प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन । प्रदेशसभा सचिवालय स्रोतका अनुसार आजको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी गरेका हुन ।

मुख्यमन्त्री भट्टले सोमबार नै विश्वासको मत लिने तयारी भए पनि नियमले नमिल्ने भएकाले मंगलबारका लागि सारिएको सचिवालय स्रोतले बताइएको छ ।

मुख्यमन्त्री भट्टले संविधानको धारा १८८ बमोजिम विश्वासको मत लिन आइतबार प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएका थिए। मुख्यमन्त्री भट्टले आज बिहान ९ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने प्रदेश सचिवालय जनाएको छ ।

प्रदेश सभाको नियम अनुसार दर्ता गरेको ४८ घण्टा पुग्नुपर्ने नियम छ । नेकपा एमाले स्थायी कमिटीले जेठ १० गते सुदूरपश्चिममा माओवादी नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।

तर जेठ १२ गते बसेको नेकपा एमाले प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सरकारलाई रहेको समर्थन कायम राख्ने र मन्त्रिपरिषद् विस्तार गरेर थप सदस्यहरु सरकारमा पठाउने निर्णय गरेको थियो ।

त्यसयता एमाले भित्र किचलो देखिएको छ । हाल सभामुख सहित ५२ सदस्य रहेको सुदूरपश्चिम प्रदेशसभामा मुख्यमन्त्री भट्टले विश्वासको मत प्राप्त गर्न २७ जनाको समर्थन आवश्यक पर्छ ।

विश्वासको मत लिदै गर्दा भट्टले कम्तीमा २८ मत प्राप्त गर्ने अनुमान गरेको बुझिएको छ । एमाले माधव नेपाल समूहको दरिलो साथ भएकाले मुख्यमन्त्री भट्टलाई विश्वासको मत सहजै प्राप्त हुने अवस्था रहेको सांसदहरुले बताएका छन । माओवादी केन्द्रका १३ जना सदस्य छन ।

सभामुखबाहेक एमालेका २४ जना सदस्य छन । पछिल्लो समयमा एमाले सांसदहरु अध्यक्ष ओली र नेपाल समूहगरी दुई चिरामा बाँडिएका छन । तर नेपाल पक्षमा बहुमत सदस्य छन । नेपाल समूहले आफ्नो पक्षमा कम्तीमा पनि १५ जना सदस्य रहेको दाबी गरेको छ ।

कांग्रेसका १२ र जसपाका २ जना प्रदेशसभा सदस्य रहेका छन्। नेपाल पक्षले अहिलेकै सरकारलाई समर्थन दिने भए पनि विश्वासको मत फिर्ता लिने पार्टी निर्णयको पक्षमा रहेका ओली पक्षधर सांसदहरु भने अलमलमा पर्ने देखिएको छ ।

विपक्षमा मत हाल्न एमालेको निर्देशन

मुख्यमन्त्री भट्टले लिन लागेको विश्वासको मतका विपक्षमा मतदान गर्न  नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश  कमिटीले ह्विप जारी गर्न संसदीय दललाई निर्देशन दिएको छ ।

एमालेका प्रदेश अध्यक्ष कर्ण थापा र सचिव राजेन्द्र रावलले संसदीय दलका नेता प्रकाशबहादुर शाह र प्रमुख सचेतक दुर्गा विकलाई विपक्षमा मतदान गर्नका लागि ह्विप जारी गर्न निर्देशनसहित पत्र पठाएका छन् ।

५२ प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त गर्न २७ मत आवश्यक पर्छ । अहिले प्रदेशसभामा सबैभन्दा ठूलो दल एमालेका सभामुखबाहेक २४, माओवादीका १३, कांग्रेसका १२ र जनता समाजवादी पार्टी नेपालका दुई जना छन् ।

एमालेका २४ मतदातामध्ये कारवाहीमा परेका  १५ र संस्थापन पक्षमा नौ सदस्य छन् ।  पूर्वनेता माधवकुमार नेपाल पक्षका सदस्यले फ्लोर क्रस गरी मुख्यमन्त्री भट्टका पक्षमा मतदान गरे विश्वास प्राप्त गर्नेछन् ।