धनगढी, जेठ २५ (ई-रैवार)
कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो डोज आजबाट दिइने भएको छ । चीनले अनुदानमा खोप उपलब्ध गराएपछि सरकारले आजदेखि ज्येष्ठ नागरिकलाई कोरोना भाइरस विरूद्धको भेरोसेल खोपको पहिलो डोज लगाउन लागेको हो ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले सोमबार जारी गरेको सूचना अनुसार खोप लगाउने समय बिहान १० देखि अपराह्न ४ बजेसम्म निर्धारण गरिएको छ । आफूलाई पायक पर्ने वडा कार्यालयमा गएर खोप लगाउन सकिनेछ । खोप लगाउनका लागि उमेर खुल्ने परिचयपत्र अनिवार्य गरिएको छ ।
यसअघि सरकारले ६०देखि ६४ वर्ष उमेर समूहलाई लगाउने भनिएपछि सोमबार स्वास्थ्य सेवा विभागले सातै प्रदेशका स्वास्थ्य निर्देशनालयलाई परिपत्र गर्दै सीमित जिल्लाहरुमा १८ वर्षमाथिका र ५५ वर्षमाथिका उमेर समूहलाई समेत दिन भनिएको थियो ।
सोमबारको परिपत्र अनुसार अब तिब्बतसँग जोडिएका जिल्लामा १८ वर्षमाथिका पहिलो डोज लगाउन बाँकीलाई प्राथमिकता दिइनेछ भने सबै हिमाली जिल्लाका ५५ वर्षदेखि ५९ वर्षबीचका पहिलो डोज लगाउन बाँकी पनि प्राथमिकता क्रममा पर्ने भएका हुन् ।
न्य जिल्लाको हकमा ६२–६४ वर्ष उमेर समूहलाई प्राथमिकता दिन परिपत्रमार्फत् आग्रह गरिएको छ । ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकको लागि खोप दिने भनिए पनि पर्याप्त खोप नभएकोले माथिल्लो उमेरका ज्येष्ठ नागरिकलाई प्राथमिकता दिने र उपलब्धताको आधारमा बाँकीलाई खोप दिन आग्रह गरिएको छ ।
काठमाडौं उपत्यकाका तीनै जिल्लामा परिपत्र अनुसार ६२ देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई खोप उपलब्ध गराइने भएको छ भने पर्याप्तताको आधारमा ६० र ६१ वर्ष उमेर समूहलाई प्राथमिकता दिइने भएको छ ।
यसैगरी, काठमाडौं उपत्यकामा पहिलो डोज भेरोसेल लगाएका र दोस्रो डोज लगाउने बेला काठमाडौंबाहिर भएका व्यक्तिहरु, यसअघि खोप लगाउन छुटेका स्वास्थ्यकर्मी, मेडिकल कलेजका विद्यार्थी तथा इन्टर्नहरुले पनि यो खोप लगाउन पाउने मन्त्रालयले जनाएको छ ।
तिब्बतसँग सीमा जोडिएका जिल्लाका पालिकाहरूमा १८ वर्ष माथिका सबै व्यक्तिले पनि यो खोप लगाउन पाउने छन् । खोप लगाउन जाँदा आफ्नो परिचय खुल्ने सरकारी परिचयपत्र वा वडाको सिफारिस र पहिला खोप लगाएको भए खोप कार्ड सँगै बोकेर जानु पर्ने छ ।
सुदूरपश्चिम प्रदेशमा ४२ हजार नागरिकलाई कोरोना विरूद्धको भेरोसेल खोप लगाइने
सुदूरपश्चिम प्रदेशमा आजदेखि ४२ हजार नागरिकलाई कोरोना विरूद्धको भेरोसेल खोप लगाइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुदूरपश्चिममा दुवै मात्राका लागि ८४ हजार डोज खोप पठाएको छ । जसमध्ये ४२ हजार नागरिकलाई भेरोसेल खोप लगाइने भएको हो ।
प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका अनुसार पहिलो डोजका लागि कैलालीमा १३ हजार ६ सय १०, कञ्चनपुरमा ७ हजार ५ सय ७०, अछाममा ४ हजार १ सय २, बैतडीमा ३ हजार ७ सय ८०, दार्चुलामा ३ हजार २ सय ४३, बझाङ्गमा ३ हजार १ सय ६८, डोटीमा ३ हजार २०, डडेल्धुरामा २ हजार २ सय ५८ र बाजुरामा भने दुवै डोजका लागि गरी ४ हजार ४ सय ४२ डोज खोप पुगिसकेको छ ।
प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निमित्त प्रमुख पदम विष्टले बाजुरामा पछि ढुवानी गर्न समस्या हुने भएकाले एकै चोटी पठाइएको बताए ।
स्वास्थ्य निर्देशनालय डोटीका स्वास्थ्य निर्देशक डाक्टर गुणराज अवस्थी कोरोना भाइरस विरुद्धको भेरोसेल खोप सरकारले निर्धारण गरेको मापदण्ड अनुसारका नागरिकहरूलाई लगाइने बताए ।


