काठमाडौँ, जेठ २४ (ई-रैवार)
एमालेको झलनाथ खनाल-माधव नेपाल समूहको स्थायी समिति बैठक सकिएको छ । खनाल-नेपाल पक्षको सोमबार भर्चुअल विधिबाट बसेको स्थायी समिति बैठकले अध्यक्ष केपी शर्मा ओलीबाट इमान्दारीपूर्वक पार्टी एकताको प्रस्ताव नआएको निष्कर्ष निकालेको छ ।
अध्यक्ष ओलीले अगाडि सारेको ६ बुँदे प्रस्तावबारे छलफल गर्न सोमबार बसेको खनाल–नेपाल समुहको बैठकले स्थायी कमिटी बैठकले यस्तो निष्कर्ष निकालेको हो । ओलीले एकताका नाममा जारी गरेको वक्तव्यले पार्टी एकता नहुने निष्कर्ष समेत निकालेको नेता युवराज ज्ञवालीले बताए ।
‘अहिले पनि हामी एकताकै पक्षमा छौ, तर अध्यक्ष ओलीले आइतबार जारी गरेको वक्तव्यले एमालेलाई जेठ २ को अवस्थामा फर्काउने संकेत गरेको छैन’, नेता ज्ञवालीले भने, ‘संविधान मिचेर संसद विघटन गरेकोप्रति पनि उहाँले आत्मालोचना गर्नुभएको छैन ।’
‘उहाँको प्रस्ताव इमान्दारितापूर्वक एकताको पक्षमा ल्याइएको होइन, हामी बुँदाबुँदामा खण्डन गर्ने गरी लिखित नै तयार गर्छौं’ नेता ज्ञवालीले भने–स्थायी समितिका सदस्यहरुको बीचमा भएको छलफलले अध्यक्ष ओलीको प्रस्तावमा आफ्नो समुहले लिखित जवाफ नै दिने तयारी गरेको समेत जानकारी दिए । त्यसमा धेरै कुरा आउँछन्,’ नेता ज्ञवालीले भने ।
त्यस्तै खनाल नेपाल समुहको छलफलले ओलीले भनेजस्तो प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा पुगेको मुद्दाको हस्ताक्षर समेत फिर्ता लिन नसक्ने ठहर गरेको छ । ‘ओलीले एकताको नाममा एकताको विपक्षमा वक्तव्य जारी गर्नुभएको छ, । यसलाई हामीले गम्भीर रुपमा लिएका छौ’ नेता ज्ञवालीको भनाइ छ ।
स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेले फागुन २८ गतेको भेलाबाट थपिएका २७ जना, केन्द्रीय कमिटी भङ्ग गरेर आयोजक कमिटी बनाइएको, विश्वासको मत लिनुपर्नेमा अविश्वास भएर प्रधानमन्त्रीले विश्वासको मत नै नलिई रातारात संसद भङ्ग गर्ने गैरसंवैधानिक काम गरेको र प्रस्तावमा उक्त विषय उल्लेख नै नगरी मिलाएर लैजान्छु भन्नुको अर्थ नरहेको बताए ।
“यो एकताका लागि गरिएको कुरा जुन छ, त्यो एकताका लागि गरिएको होइन । आम जनता, कार्यकर्ताहरु यो पार्टी एकता भइदिए हुन्थ्यो भन्ने जुन चाहना राख्छन् । उनीहरुको आँखामा छारो हाल्न फ्याँकिएको एउटा कार्ड हो,” उनले भने । ओली सच्चिएको भन्ने आफूहरुलाई विश्वास नभएको र उनको वक्तव्यमाथि पनि भरोसा नभएको उनको भनाइ छ ।
‘पार्टी एकताको निम्ति इमान्दारीपूर्वक आएको प्रस्ताव छैन । ओलीले राखेका बुँदा स्वीकार गर्न सकिदैँन । साँच्चै एकता चाहेको हो भने हामीले पहिला राखेका ६ बुँदा अनुसार प्रस्ताव आउनु पर्छ भन्ने निष्कर्ष बैठकले निकालेको छ,’ स्थायी कमिटी सदस्य बेदुराम भुसालले भने, ‘यसअघि हामीले अगाडि सारेका ६ बुँदे प्रस्ताव लगायतका विषयलाई समेटेर वक्तव्य जारी गर्दैछौं ।’
खनाल–नेपाल समूहको ६ बुँदेमा के थियो ?
१) सर्वोच्च अदालतको फैसला तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले) को विधान, नियमावली, आचार संहिता अनुरूप २०७५ साल जेठ ३ गते पार्टी एकीकरण हुनुपूर्वको अर्थात् जेठ २ गतेको स्थितिमा पार्टी, जनसङ्गठन र पेसागत गठनका सबै संरचनाहरूलाई केन्द्रदेखि स्थानीय तहसम्म क्रियाशील तुल्याउने।
२) नवौँ राष्ट्रिय महाधिवेशनको मार्ग निर्देशन र पार्टीको विधान विपरीत २०७७ साल फागुन २८ गते गरिएका केन्द्रीय कमिटी विघटन गर्ने लगायतका निर्णय रद्द गर्नुका साथै त्यसको आधारमा त्यसपछि भएका सबै निर्णयहरू खारेज गर्ने ।
३) पार्टीलाई विधि, विधान र पद्धति अनुरूप सञ्चालन गर्ने ।
४) पार्टीमा उत्पन्न अन्तर्विरोध, मतभेद र विवादका कारण सिर्जित समस्याहरू तथा एक अर्काप्रति लगाइएका आरोप–प्रत्यारोप एवम् समस्याहरूको बारेमा यथोचित समयमा समीक्षा गरी आवश्यक निर्णय गर्ने ।
५) सरकार र पार्टीको बिचमा समन्वय र सुसम्बन्ध कायम गर्दै पार्टीको सिद्धान्त, नीति, कार्यक्रम र देश तथा जनताको सर्वोपरि हित, अपेक्षा र आवश्यकता अनुसार सञ्चालन गर्ने ।
६) उक्त कुराहरूको आधारमा पार्टीलाई एकताबद्ध रूपमा अगाडि बढाउने । यथा समयमा राष्ट्रिय महाधिवेशन र विभिन्न तहका अधिवेशनहरू सम्पन्न गर्ने ।


