धनगढी, जेठ २४ (ई-रैवार)
सेती प्रादेशिक अस्पतालमा सोमबार थप १३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा २७९ नमूना परीक्षण गर्दा १३० जनामा संक्रमण पुष्टि भएको हो ।
सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार धनगढी उपमहानगर पालिकका ६९ जना, धनगढीबाहेक कैलालीका ४९ जना र अन्य जिल्लाका १२ जनामा संक्रमण पुष्टि भएको छ ।
सूचना अधिकारी श्रेष्ठले हाल सेती प्रादेशिक अस्पतालमा ३२ जना कोरोना संक्रमितको उपचार भइरहेको बताए । जसमध्ये ३ जना भेन्टिलेटरमा, ९ जना आइसियूमा, २१ जना अक्सिजन सपोर्टमा उपचाररत छन् भने २ जनाको अवस्था सामान्य रहेको जनाएको छ ।
पछिल्लो २४ घण्टामा सेती अस्पतालमा ११ जना कोरोना संक्रमित कोरोनामुक्त भएर घर फर्किएका छन् । ७ जना नयाँ कोरोना संक्रमित अस्पताल भर्ना भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
सेती प्रादेशिक अस्पतामा पछिल्लो २४ घण्टामा उपचाररत १ जना कोरोना संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ ।


