दसैँ–तिहारलाई २५ हजार टन चिनी ल्याउन सरकारी संस्थानलाई अनुमति

दसैँ–तिहारलाई २५ हजार टन चिनी ल्याउन सरकारी संस्थानलाई अनुमति
Spread the love

काठमाडौं भदौ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई २५ हजार टन चिनी खरिद गर्न स्वीकृति दिएको छ । सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार १ प्रतिशत भन्सार शुल्क लिई दुई संस्थानलाई चिनी आयातको अनुमति दिइएको हो । सरकारले अहिले चिनीमा १५ प्रतिशत भन्सार महसुल तोकेको छ ।

सरकारले आयात स्वीकृति प्रदान गरेको उक्त चिनी दसैँ–तिहारको माग धान्नका लागि खपत हुनेछ । साल्ट ट्रेडिङका नायब प्रमुख कार्यकारी अधिकृत कुमार राजभण्डारीका अनुसार मन्त्रिपरिषद्ले स्वीकृति गरेको परिमाण चाडपर्वका वेला खपत हुने समयमा वितरण हुनेछ । ‘विगतमा जस्तै यसपटक पनि चाडपर्वका समयमा खपत हुने चिनी आयातका लागि भन्सार सहुलियत प्रदान भएको हो,’ उनले भने, ‘सहुलियत मूल्यमा चिनी ल्याएर बजारभाउसमेत नियन्त्रण हुने गरी बिक्री गर्नेछौँ ।’

हाल साल्ट ट्रेडिङको गोदाममा चिनीको परिमाणसमेत कम हुँदै गएको छ । देशभरका गोदाममा करिब १४ सय टन मात्रै मौज्दात रहेको राजभण्डारीले जानकारी दिए । त्यस्तै, स्वदेशी उद्योगबाट १५ हजार टन चिनीसमेत खरिद गर्न लागिएको उनले जानकारी दिए । ‘स्वदेशी उद्योगीबाट १२ हजार टन साल्ट ट्रेडिङ र खाद्य कम्पनीले तीन हजार टन खरिद गर्ने प्रक्रिया अघि बढेको छ,’ उनले भने, ‘यो परिमाण पनि दसैँ–तिहारका लागि नै हो ।’ चाडपर्वमा मूल्य अकासिने प्रवृत्तिलाई नियन्त्रण गर्न सरकारले बर्सेनि चिनी आयातमा भन्सार महसुल छुट दिने गरेको छ ।