धनगढी, जेठ २० (ई-रैवार)
कैलालीमा हप्ताको चार दिन पसल खोल्न पाईने भएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले जेठ ३१ गते सम्मको लागि निषेधाज्ञालाई निरन्तरता दिए सगै हप्ताको चार दिन पसल खोल्न पाईने भएको हो ।
जिल्ला प्रशासन कार्यालयका अनुसार तरकारी, फलफूल, खाद्यान्न, दूध डेरी, मासु, खानेपानी, ग्याँस पसलहरु, किराना पसल र डिपार्टमेन्टल स्टोर हप्ताको चार दिन खुल्ने भएका हुन् । आईतबार, मंगलबार, बिहिबार र शनिबार बिहान ६ देखि १० बजे सम्म मात्र खाध्यान्न, तरकारी, दुग्ध डेरी, मासु पसल खोल्न पाउने जनाएको छ । बैकका सेवाहरु बिहान ७ देखि ११ बजेसम्म सञ्चालन हुने जनाएको छ ।
यस्तै आवश्यक स्वास्थ्य मापदण्डको पालना गरि तरकारी, फलफूल, खाद्यान्न, दूध तथा दूग्धजन्य पदार्थ र सोको प्याकिङ सामग्री, कुखुराको दाना, चल्ला र पशुपंक्षीजन्य पदार्थ, भेटनरी सम्बन्धी कार्य, ईन्धन, खाना पकाउने ग्याँस, सरसफाईमा प्रयोग गरिने मास्क, साबुन र स्यानिटाइजर लगायत ढुवानी गर्ने यातायातका साधनमा व्यानर वा प्रिन्टमा विषय उल्लेख गरी जनस्वास्थ्यका मापदण्डको अनिवार्य पालना गर्ने गरी न्यूनतम जनशक्ति प्रयोग गरी सञ्चालन गर्न पाउने समेत पाउने जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय कैलालीले जेठ ३१ गते सम्मको लागि निषेधाज्ञालाई निरन्तरता दिने प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले बताए । जिल्लामा कोरोना संक्रमणदर केहि मात्रामा कम भएपनि तत्काल निषेधाज्ञा खोल्न नै उचित नहुने भन्दै जेठ मसान्तसम्म निषेधाज्ञालाई निरन्तरता दिएको प्रमुख जिल्ला अधिकारी रिजालले बताए । यदी यदि तोकिए बमोजिम स्वास्थ्यका मापदण्डहरु परिपालना नगरेको भेटिएमा पसल बन्द गर्न समेत सकिने प्रशासनले जनाएको छ ।
त्येसैगरी कञ्चनपुरमा जारी निषेधाज्ञा पनि लम्बिएको छ। बिहीबार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले गरेको निर्णयका आधारमा जेठ ३१ गतेसम्म निषेधाज्ञा थप भएको हो।
जिल्लामा कोभिड संक्रमणदर धेरै नघटेको भन्दै जेठ ३१ गतेसम्म निषेधाज्ञालाई निरन्तरता दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले जानकारी दिए।
उनका अनुसार सबै बैंक तथा वित्तीय संस्थाहरु आइतबार र बुधबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म जनस्वास्थ्यका मापदण्डहरुको कडाईका साथ पालना गरी सञ्चालन गर्न सकिने छ।
यस्तै तरकारी, फलफूल, खाद्यान्न, दूध डेरी, मासु, खानेपानी, ग्याँस पसलहरु, किराना पसल र डिपार्टमेन्टल स्टोर ९ग्रोसरी मात्र० प्रत्येक आइतबार र बुधबार बिहान ६ बजेदेखि ९ बजेसम्म मात्र खुला गर्न पाउने निर्णय भएको छ। त्यस्तै विवाह व्रतबन्धको हकमा बढीमा १० जनासम्म सहभागी हुन पाउनेछन्।


