काठमाडौँ, जेठ २० (ई-रैवार)
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि नभएको जनाएको छ । बिहीबार मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नेपालमा अल्फा र डेल्टा भेरियन्ट अफ कन्सर्न मात्र रहेको जनाएको हो ।
पछिल्लो समय नेपालमा अल्फा बी.१.१.७०, डेल्टा बी.१.६१७.२ र कप्पा ९बी.१.६१७.१ भेरियन्ट देखिएको मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले बताए । हाल यी भेरियन्टमध्ये डेल्टा बी.१.६१७.२ धेरै संक्रमितमा देखिएको उनले बताए ।
नेपालमा कोरोनाको छुट्टै नयाँ भेरियन्ट फैलिएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यममा चर्चा भएपनि सत्यता नभएको डा. पौडेलले जानकारी दिए । ‘नेपालबाट गएका व्यक्तिमा डेल्टा बी.१.६१७.२ नयाँ भेरियन्ट देखिएको थियो होला,’ उनी भन्छन्, ‘भारतीय भन्न खोजेको होला नयाँ भेरियन्टको नाम डेल्टा राखिएको छ ।’
नेपाल भेरियन्ट भनेर विश्व स्वास्थ्य संगठनले समेत नभनेको हुँदा विश्वास नगर्न उनको आग्रह छ । बेलायती अखबार डेली मेेलमा प्रकाशित समाचारमा नेपालमा नयाँ स्वरूपमा भाइरस भेटिएको उल्लेख भएपछि मन्त्रालयले उक्त कुरा स्पष्ट पारेको हो ।



