डोटी घटनाका घाइते आमा–छोरीको उपचार खर्च सरकारले बेहोर्ने

Spread the love

काठमाडौँ, जेठ १७ (ई-रैवार)

डोटी जिल्लाको आदर्श गाउँपालिकामा भएको घटनामा परी घाइते भएका आमा–छोरीको उपचार सरकारले बेहोर्ने भएको छ । गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी घाइते लक्ष्मी भाट र अञ्जु भाटको उपचारमा लाग्नै सबै खर्च सरकारले बेहोर्ने जनाएको हो ।

डोटी जिल्ला आदर्श गाउँपालिका ४ रोडी बस्ने सन्तोष भाटले श्रीमती लक्ष्मी र छोरी अञ्जुलाई सुतिरहेको अवस्थामा ज्यान मार्ने मनसायले आगो लगाएका थिए । उक्त घटनामा आमा–छोरी नै घाइते भएका छन् ।

सन्तोषले सुतेको कोठा बाहिरबाट प्रज्वलनशिल तरलपदार्थ कोठाभित्र खन्याइ आगो लगाएका मन्त्रालयले जनाएको छ । सो घटना यही जेठ १२ गते भएको जनाइएको छ ।

घाइते दुवैलाई तत्काल जिल्लास्थित सुजङ अस्पताल पुर्याई उपचार गरिएकोमा उनीहरुलाई थप उपचारका लागि आज नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौंस्थित कीर्तिपुरस्थित अस्पतालमा ल्याइएको छ ।

मन्त्रालयका प्रवक्ता जनकराज दाहालद्धारा जारी विज्ञप्तिमा यस्ता घटनामा संलग्न व्यक्तिलाई कानुन बमोजिम कडा कारबाही हुने जनाइएको छ । मन्त्रालयले घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ । यस्ता घटना दोहोरिन नदिन मन्त्रालय कटिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।

घटनापछि लक्ष्मीका श्रीमान् सन्तोष फरार छन् । उनीविरुद्ध लक्ष्मीका दाइले आइतबार प्रहरीमा किटानी जाहेरी दिएका छन् ।रासस