काठमाडौं, भदौ ३० (ई-रैवार)
नेपाली कांग्रेसले वडा अधिवेशन सुरू नभएका २१ जिल्लामध्ये ८ जिल्लामा विवाद समाधान गरेको छ। मंगलबार ८ जिल्लाको क्रियाशील नामावली निर्वाचन समितिमा पुगेको छ।
क्रियाशील सदस्यतामा देखिएको विवाद समाधान गरेर क्रियाशील सदस्यको अन्तिम सूची निर्वाचन समितिमा पुगेको हो। समितिले विवाद समाधान भएका काभ्रे, बर्दिया, सिन्धुपाल्चोक, बाजुरा, मोरङ, महोत्तरी, कैलाली र पर्सा जिल्लाको नामावली आज पार्टीको वेबसाइटमा सार्वजनिक गर्ने तयारी गरेको छ।
निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले ८ जिल्लाको नामावली आएकोले सम्भवत आज पार्टी वेबसाइटबाट सार्वजनिक गरिने बताए।
कांग्रेसले पहिलो चरणमा ५६ जिल्लाका वडामा अधिवेशन गरेको छ। असोज ५ गते बाँकी २१ जिल्लामा अधिवेशन गर्ने तयारी छ। कांग्रेसले भदौ १८ मा देशभरका छ हजार सात सय ४३ वडामा एकैदिन अधिवेशन गर्ने भने पनि क्रियाशील सदस्यतामा देखिएका विवाद समाधान गर्न सकेको थिएन।
मुख्यगरी शीर्ष नेताहरूकै जिल्लामा क्रियाशील सदस्यता विवाद छ। विभिन्न पार्टीबाट कांग्रेस प्रवेश गरेकालाई क्रियाशील सदस्यता दिँदा विवाद देखिएका छन्।
कांग्रेसले यसपालि करिब ९ लाख क्रियाशील सदस्य बनाएको थियो। कांग्रेसको पालिका तहमा असोज ९ मा अधिवेशन छ। त्यसअघि नै वडा अधिवेशन गरिसक्नुपर्ने हुन्छ।
देशभरका सबै वडामा नेपाली काँग्रेसको अधिवेशन प्रक्रिया पूरा हुँदा एक लाख १० हजारभन्दा बढी क्षेत्रीय प्रतिनिधि चयन हुने भएका छन् ।
काँग्रेसको केन्द्रीय निर्वाचन समितिले कुल छ हजार ७४३ वडामा अधिवेशन पूरा हुँदा त्यहाँबाट एक लाख १० हजारभन्दा बढी क्षेत्रीय प्रतिनिधि चयन हुने जनाएको छ ।
केन्द्रीय निर्वाचन समितिका सदस्य अधिवक्ता सीताराम केसीले वडाको निर्वाचनबाट पार्टीको वडाध्यक्ष र क्षेत्रीय प्रतिनिधि निर्वाचित हुने र त्यसबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित हुने जनाएको छन् ।
काँग्रेसको विधानअनुसार १५० भन्दा बढी क्रियाशील सदस्य भएको वडाबाट १५ क्षेत्रीय प्रतिनिधि र एक वडा सभापति गरी १६ जना चयन हुने छन् ।
वडा सभापतिले पनि क्षेत्रीय प्रतिनिधिसरह महाधिवेशन प्रतिनिधिको चयन प्रक्रियामा भाग लिन पाउने प्रावधान छ । वडा अधिवेशनले वडा कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन गर्ने छ।
समितिका सदस्य अधिवक्ता केसीले सबै वडाको अधिवेशन पूरा हुँदा कति क्षेत्रीय प्रतिनिधि चयन हुन्छन् भन्ने विवरण भने अहिले तयार हुन नसकेको उनको भनाई छ।
त्यसका लागि सबै वडाको अधिवेशन प्रक्रिया सम्पन्न हुनुपर्ने छ । पार्टीको विधानअनुसार केन्द्रीय सभापति, पदाधिकारी र केन्द्रीय सदस्यलाई मतदान गर्ने महाधिवेशन प्रतिनिधिहरू क्षेत्रीय प्रतिनिधिमध्येबाटै चयन हुने छन् । यसका साथै जिल्ला र क्षेत्रीय कार्यसमितिको निर्वाचनमा समेत क्षेत्रीय प्रतिनिधि मतदाता हुनेछन्।
कांग्रेसको महाधिवेशन भने मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा हुनेछ।


