संसद् विघटन सम्बन्धी रिटको सुनुवाइका क्रममा बिबाद, अर्को सुनुवाइ आइतबार हुने

Spread the love

काठमाडौँ, जेठ १४ (ई-रैवार) 

प्रतिनिधि सभा विघटन सम्बन्धि रिटको सुनुवाइका क्रममा बिबाद भएपछी संबैधानिक इजलास स्थगित भएको छ। ३ बजेसम्मका लागि सुनुवाइको तयारी गरिएको भएपनि इजलास गठनमा प्रश्न उठाएपछि आइतबारसम्मका लागि स्थगित गरिएको हो ।

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सुनुवाइका लागि गठन गरिएको संवैधानिक इजलासमाथि कानुन व्यवसायीले प्रश्न उठाएका हुन् । कानुनविद् गोबिन्द बन्दीले बहस गर्नुअघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई दुई टुक्रा हुने गरी फैलसा गर्ने न्यायाधीश बमकुमार श्रेष्ठको सहभागितालाई लिएर प्रश्न उठाएका थिए ।

“नेकपा पार्टी उहाँको इजलासले दुईटुक्रा बनाइदियो, उहाँबाट कसरी प्रभावित हुँदैन ?,” बन्दीको प्रश्न थियो,“त्यहीसँग जोडिएको मुद्दामा उहाँको सहभागिताले प्रश्न उठ्ने काम गरेको छ ।” बन्दीले प्रश्न उठाएपछि आइतबारसम्मका लागि बहस स्थगित भएको छ ।

संवैधानिक इजलासमा रिट निवेदक पक्षका कानुन ब्यबसायी र महान्यायाधिवक्ता रमेश बडालबीच विवाद भएपछि आइतबारसम्मका लागि संबैधानिक इजलास स्थगित भएको हो। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले व्यक्तिका बिषयमा प्रश्न नउठाउन पटकपटक आग्रह गरेका थिए। तर बिबाद साम्य नभएपछी ईजलास स्थगित भएको हो।

वकिलमाथि महान्यायधिवक्ताको प्रश्न

बहसमा क्रममा महान्याधिवक्ता रमेश बडालले विगतमा बाहिरबाट प्रश्न उठाइएको भन्दै आपत्ति जनाए । बाहिरबाट प्रश्न उठेका कारण विगतमा न्यायाधीश हरिकृष्ण कार्कीले इजलासबाट बाहिरिनुपरेको भन्दै बडालले पक्ष–विपक्षको वकिल एउटै भइरहेको तर्फ ध्यानाकर्षण गराए ।

विगतमा सभामुखलाई सल्लाह दिने वकिलले अहिले शेरबहादुर देउवाको पक्षमा वकालत गर्न नमिल्ने भन्दै बडालले प्रश्न उठाए । यसको जवाफमा पनि प्रधानन्यायाधीश जबराले यी विषयमा विवाद नगरौं भने ।

बहसकै क्रममा ‘दिउँसो २ बज्यो, अब आइतबार बसौं’ भन्दै प्रधानन्यायाधीशले सुनुवाई स्थगित गरेका छन् । अब संवैधानिक इजलासमा आइतबार पुनः सुनुवाई हुनेछ ।