काठमाडौँ, जेठ १४ (ई-रैवार)
एसइई र कक्षा १२ को परीक्षाको बारेमा अध्ययन गर्न गठित कार्यदलले प्रतिवेदन सरकारलाई बुझाएको छ । माध्यमिक शिक्षा परीक्षा (एसइई) र कक्षा १२ को परीक्षाको स्वरुप कस्तो रहने भन्ने बारेमा अध्ययन गर्न गठित कार्यदलले प्रतिवेदन सरकारलाई बुझाएको हो ।
कोरोना भाइरस संक्रमणको अवस्थामा परीक्षाका विभिन्न विकल्प सुझाउँदै कार्यदलले राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राध्यापक डा. चन्द्रमणि पौडेललाई कार्यदलले प्रतिवेदन बुझाएको हो । प्रतिवेदनउपर बोर्डको बैठकमा छलफल गरी सरकारसँग आवश्यक परामर्श गरी निर्णय गरिने बताइएको छ ।
कार्यदललाई सरोकारवालाले एसइईको परीक्षा विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा गर्नुपर्ने र कक्षा १२ को भने अन्तर्राष्ट्रिय मान्यतासमेत भएकोले परीक्षा लिनुपर्ने सुझाव दिएको जनाइएको छ ।
संक्रमणको अवस्थामा विदेशका बोर्डहरूले गरेको अभ्यास र निर्णयलाई आधार मानेर प्रतिवेदन सिफारिस गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छिट्टै नै परीक्षाको विकल्पका बारेमा टुङ्गो लगाइने जनाएको छ ।


