प्रधानमन्त्री ओलीसँगै राष्ट्रपति भण्डारीले लोकतन्त्रमाथि खतरा उत्पन्न गरिन्- देउवा

प्रधानमन्त्री ओलीसँगै राष्ट्रपति भण्डारीले लोकतन्त्रमाथि खतरा उत्पन्न गरिन्- देउवा
Spread the love

काठमाडौँ, जेठ १३ (ई-रैवार)

कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्रमाथि खतरा उत्पन्न  गरेको बताएका छन् । प्रेस युनियनको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँगै राष्ट्रपति भण्डारीले पनि लोकतन्त्रमाथि खतरा उत्पन्न गरेको बताएका हुन् ।

प्रेस युनियनको स्थापना दिवसको अवसरमा आयोजित भर्चुअल कार्यक्रममा बोल्दै सभापति देउवाले राष्ट्रपतिले प्रधानमन्त्रीका गलत कदममा मलजल गरिरहेको आरोप लगाए ।

संविधानको धारा ७६ को ५ अनुसार प्रतिनिधिसभाको कुनै पनि सदस्यले विश्वासको मत प्राप्त गर्ने आधार पेश गरेमा राष्ट्रपति कहाँ जाने व्यवस्था छ। हामीले यही व्यवस्थामा टेकेर सांसदहरूको हस्ताक्षर लिएर गएका थियौं। भेरिफाई नगरिकनै राति १ बजे राष्ट्रपतिले हाम्रो दावी रद्द गरिदिनु भयो। देउवाले भने।

प्रधानमन्त्रीले संविधानको उल्लंघन गरे भन्दैमा राष्ट्रपतिले गर्न हुँदैन थियो, उनले भने। कसको बहुमत छ भन्ने हेर्नका लागि सांसदहरूको लाइन लगाएको भए हुन्थ्यो भन्दै उनले मध्यरातमा प्रधानमन्त्रीले भनेअनुसार राष्ट्रपति चलेको बताए ।

प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीले संविधानको ठाडो उल्लंघन गरेको देउवाको भनाइ थियो । त्यस्तै, वर्तमान व्यवस्थामाथि पनि उनीहरूबाट हस्तक्षेप भएको भन्दै त्यसका विरुद्धमा एकजुट हुनुपर्ने उनको आग्रह थियो ।

उनले आफूहरू सर्वोच्च गएकाले त्यहाँबाट न्याय हुने विश्वास व्यक्त गरे। मुलुकमा मनपरीतन्त्र चलेपछि कांग्रेस अदालत गएको देउवाको भनाइ थियो । स्वतन्त्र न्यायपालिकाले संविधानमाथिको हस्तक्षेपलाई परास्त गर्ने विश्वास आफूले लिएको उनले बताए ।

राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको प्रधानमन्त्रीमा दाबी गर्न आह्वान गरेपछि विपक्षी गठबन्धन जेठ ७ गते १ सय ४९ सांसदहरूको हस्ताक्षर लिएर राष्ट्रपतिकोमा गएको थियो । प्रधानमन्त्रीमा देउवाको नाम प्रस्तावित गरिएको थियो ।

फरक प्रसंगमा बोल्दै आफू पार्टी महाधिवेशन गराएन भनेर कलंक बोक्न नचाहने बताउँदै सभापति देउवाले कोरोना महामारीले महाधिवेशन गराउन नसकिएको स्पष्ट पारे। उनले सल्लाह गरेर कुनै अरु सहज बाटो निकाल्नुपर्ने धारणा राखेका थिए। अहिले संविधान मिच्नेविरुद्ध लडौं। त्यसपछि बसेर छलफल गरौंलाु, उनले भने।

अहिले आफूले सर्वोच्चमा रिट दिएकोले प्रतिनिधि सभा पुनर्स्थापना नहुञ्जेल त्यसैमा केन्द्रीत हुनुपर्ने देउवा बताउँछन्। ‘प्रविधि प्रयोग गर्न सकिन्छ भन्ने छ। अनलाइनबाट नै महाधिवेशन गर्न सकिन्छ भन्ने पनि छ। विकल्प खोज्ने हो, छलफल गर्ने हो। जुन विकल्पमा जान पनि सकिन्छ, जाऔंला,’ देउवाले भने।

स्थापना दिवसमा आयोजित भर्चुअल कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले विषम परिस्थितिमा महाधिवेशनका लागि दुई विकल्प अगाडि सारेका छन् ।

उनले भने, अहिलेसम्म जे जति क्रियाशील सदस्यता टुंगिएको छ । त्यही बाट महाधिवेशन गयौं । केन्द्रीय समितिको चुनाव गर्नै पर्छ । सम्पूर्ण काम सकेर अधिवेशन गर्न सकिएन भने एक वर्षका लागि केन्द्रीय समितिको चुनाव गर्ने सक्ने विकल्प छ ।

पौडेलका अनुसार २०७२ सालमा भएको १३ औं महाधिवेशनका महाधिवेशन प्रतिनिधिबाटै पनि नयाँ नेतृत्व चयन गर्न सकिन्छ।वा अहिले जति क्रियाशील सदस्य छन् तिनैबाट पनि महाधिवेशन गर्न सकिन्छ।

कोरोना महामारीबाट जनतालाई मुक्त गर्ने, संविधानको रक्षा र वैधानिक संकटबाट जोगाउन महाधिवेशन गर्ने दायित्व र जिम्मेवारी काँग्रेसको भएको पौडेलको भनाइ थियो । कोरोना महामारीबाट जनतालाई मुक्त गर्ने, संविधानको रक्षा र वैधानिक संकटबाट जोगाउन महाधिवेशन गर्ने दायित्व र जिम्मेवारी काँग्रेसको भएको पौडेलको भनाइ थियो ।

भर्चुअल कार्यक्रममा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कोरोना महामारीबीच नै प्रविधि प्रयोग गरेर महाधिवेशन गर्न सकिने सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुखसमेत रहेका बताए।

‘प्रविधिमार्फत् नै क्रियाशील सदस्यता वितरणदेखि उम्मेदवारी दर्ता, भोटिङ र मतगणना गर्न सकिने व्यवस्थापन मिलाउन सकिन्छ,’ शर्माले भने, ‘भौतिक रूपमा महाधिवेशन गर्न सक्ने अवस्था रहेन भने पनि प्रविधिमार्फत् गर्छौं।’

१० लाख क्रियाशील सदस्य बनाउने तयारी गरेको कांग्रेसले अहिलेसम्म ७ लाख हाराहारीमा क्रियाशील सदस्यको नाम टुंगो लगाएको छ। प्रदेश नम्बर २ का अधिकांश जिल्ला र सिन्धुपाल्चोकमा क्रियाशील सदस्यताका काम अगाडि बढेका छैनन्। कांग्रेस सभापति देउवाले नियमित चार वर्षे कार्यकाल सकेर डेढ वर्ष थपेको कार्यकाल यही भदौमा सकिँदैछ।