डोटी र डडेल्धुरामा २२ गतेसम्म निषेधाज्ञा थपियो, सुदूरपश्चिमका कुन जिल्लामा कहिलेसम्म निषेधाज्ञा ?

डोटी र डडेल्धुरामा २२ गतेसम्म निषेधाज्ञा थपियो, सुदूरपश्चिमका कुन जिल्लामा कहिलेसम्म निषेधाज्ञा ?
l;nu9Lsf] ahf/sf] /d0fLo b[io . tl:a/ Mdf]xg zfxL ÷sflGtk'/
Spread the love

धनगढी, जेठ १५ (ई-रैवार)

डोटी र डडेल्धुरा जिल्लामा जेठ २२ गते सम्मका लागि निषेधाज्ञा थप गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रको शुक्रबार बसेको बैठकले जेठ २२ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको हो ।

यसअघि डोटी र डडेल्धुरा जिल्लामा शनिबार राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रको शुक्रबार बसेको बैठकले एक साताका लागि निषेधाज्ञा थप गर्न सिफारिस गरेपछि प्रमुख जिल्ला अधिकारीले कोभिड– १९ संकट व्यवस्थापन सम्वन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७८ र स्थानीय प्रशासन ऐन, २०२८ अनुसार आदेश जारी गरेका हुन् ।

 सुदूरपश्चिमका कुन जिल्लामा कहिलेसम्म निषेधाज्ञा  ?

सुदूरपश्चिममा नौवटै जिल्लामा निषेधाज्ञा थपिँदै गएको छ । अछाम जिल्ला प्रशासन कार्यालयले जेठ २२ गतेसम्म निषेधाज्ञा थप गरेको छ । वैशाख १९ गतेदेखि जेठ २ गतेसम्म पहिलो पटक निषेधाज्ञा जारी भएकोमा जेठ १२ गतेसम्म थप गरिएको थियो । जेठ ११ गते बसेको कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रको बैठकले २२ गतेसम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको थियो ।

यस्तै दार्चुला जेठ जेठ ९ गतेदेखि २० गतेसम्म निषेधाज्ञा रहेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जानकारी दिएको छ । स्थानीय तहको अवस्था हेरी निषेधाज्ञा जारी गरेको दार्चुलाले संक्रमितको संख्या बढ्दै गएपछि जिल्लाभरीनै निषेधाज्ञा जारी गरेको थियो ।

बैतडीमा जेठ १७ गते राति १२ वजेसम्म निषेधाज्ञा रहनेछ । कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रको जेठ २ गतेको सिफारिस अनुसार प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले उक्त आदेश जारी गरेका हुन् ।

यस्तै बझाङ जिल्लामा पनि जेठ १७ गतेसम्म निषेधाज्ञा रहेको छ । सहायक प्रमुख जिल्ला अधिकारी बिष्णुप्रसाद सुवेदीका अनुसार जिल्लामा संक्रमणको अवस्थामा खासै सुधार आउन नसकेको हुँदा निषेधाज्ञा लम्विन सक्नेछ । उनले आइतबार कोभिड–१९ व्यवस्थापन सञ्चालन केन्द्रको बैठक बस्ने र सोही बैठकले निर्णय लिने वताए ।

बाजुरामा जेठ २१ गतेसम्मका लागि निषेधाज्ञा छ । जिल्ला बैशाख २२ गते पहिलो पटक निषेधाज्ञा जारी गरेको बाजुरा प्रशासनले जेठ १३ गते फेरी लम्व्याएको हो ।

प्रदेशकै सबैभन्दा बढी जनघनत्व भएको जिल्ला कैलालीमा जेठ २० गतेसम्म निषेधाज्ञा छ । गत वैशाख १६ गते पहिलो पटक स्थानीय प्रशासन ऐन अनुसार निषेधाज्ञा जारी गरिएको थियो । यस्तै कञ्चनपुरमा पनि जेठ २२ गतेसम्म निषेधाज्ञा छ । कञ्चनपुरमा पनि पहिलो पटक वैशाख १६ गते निषेधाज्ञा जारी भएको थियो ।