जसपाको महन्थ पक्ष ओली सरकारमा सहभागी हुने, माग्यो ८ मन्त्रालय

Spread the love

काठमाडौं, जेठ १० (ई-रैवार) 

जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षले ओली सरकारमा सहभागी हुने भएको छ । जसपाका अध्यक्ष ठाकुर पक्ष ८ मन्त्री र २ राज्यमन्त्रीसहित सरकारमा सहभागी हुने सहमति जुटेको हो ।

ओली नेतृत्वको सरकारमा सहभागी हुन ठाकुर पक्षले ८ मन्त्रालय र २ राज्यमन्त्रीसहित मागेको जसपाका एक नेताले बताए । जसपा महन्त पक्षको संसदीय दलका नेता राजेन्द्र महतोको नेतृत्वमा सरकारमा सहभागी हुने बताइएको छ।

पछिल्लो समय प्रधानमन्त्री ओलीसंग निकट रहदै आएको महन्थ ठाकुर पक्ष महत्वपूर्ण मन्त्रालयसहित सरकारमा जाने गृहकार्यमा जुटेको छ। मन्त्री हुने व्यक्तिको टुंगो लाग्ने बितिक्कै शपथ हुने स्रोतले जानकारी दिएको छ ।

ओली सरकारलाई सहयोग गराउँदै आएको ठाकुर पक्ष सरकारले जसपाका अधिकांश माग सम्बोधन गरेको, संविधान संशोधनका लागि ओलीले अध्यादेश ल्याएको र अन्य कतिपय माग सम्बोधनको प्रक्रियामै भएकाले सबै माग पूरा हुने सुनिश्चित भएका कारण सरकारमा सहभागी हुन लागेको एक नेताले बताए।

जसपासँगको सहमतिपछि सरकारले संविधान संशोधन कार्यदल समेत बनाइसकेको छ। कार्यदलमा सरकारी पक्षबाट विष्णु रिमाल, अग्निप्रसाद खरेल र कृष्णभक्त पोखरेल छन् भने जसपाबाट लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल छन्।

अर्का अध्यक्ष उपेन्द्र यादव समूहले भने ओली सरकारमा सहभागी हुनेलाई पार्टीबाट निष्कासन गर्ने चेतावनी दिइसकेको छ । आइतबार बसेको उपेन्द्र पक्षको कार्यकारिणी बैठकले त्यस्तो निर्णय गरेको हो ।