जसपा अध्यक्ष ठाकुरसँग निर्वाचन आयोगले माग्यो केन्द्रीय पदाधिकारीको हस्ताक्षर सहितको निर्णय

Spread the love

काठमाडौँ, जेठ १९ (ई-रैवार)

निर्वाचन आयोगले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई केन्द्रीय कार्यकारिणी समिति सदस्यहरूको हस्ताक्षर भएको निर्णयको प्रतिलिपी पेस गर्न पत्र पठाएको छ ।

अध्यक्ष ठाकुरले मंगलबार आफूले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गरेको जानकारीसहितको पत्र निर्वाचन आयोगलाई पठाएका थिए । आयोगले केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरूको हस्ताक्षर भएको निर्णयको प्रतिलिपी पठाउन भनेर पत्र लेखेको हो ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले अध्यक्ष ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गरेको केन्द्रीय समितिको पदाधिकारीको निर्णयको हस्ताक्षर नबुझाएकाले माग गरेको जानकारी दिएका छन् । अध्यक्ष ठाकुरले केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरूको हस्ताक्षर नभएको पत्र लेखेर आयोगलाई पार्टीको कागजात अद्यावधिक गर्न आग्रह गरेका थिए ।

ठाकुरलाई केन्द्रीय कार्यकारिणी समितिका सदस्यको हस्ताक्षर यति दिनभित्र पेस गर्नु भनेर समय भने नतोकिएको श्रेष्ठले जानकारी दिए । श्रेष्ठले भने, ुहस्ताक्षर पेस गर्न कति समय लाग्ला र रु १ हप्ता लाग्ला । हस्ताक्षरसहितको निर्णय पेस नगरेसम्म उहाँहरूले मागेजस्तो प्रक्रिया अघि बढ्दैन ।ु

मंगलबार अध्यक्ष उपेन्द्र यादवले पनि अर्का अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरु लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टीबाट निष्कासन गरेको पत्र निर्वाचन आयोगमा पठाएका थिए । यादव पक्षले केन्द्रीय कार्यकारिणीको २७ जनाको हस्ताक्षर सहित निष्कासन गरेको पत्र निर्वाचन आयोगलाई लेखी पठाएका छन् ।

दुबै पक्षले एक अर्का पक्षलाई कारबाही गरेर दलको दर्ता कितावमा रहेको विवरण सच्याउन पनि आग्रह गरेका थिए । जसपाको ५१ सदस्यीय केन्द्रीय कार्यकारिणीमा यादव पक्ष बहुमतमा छ । केही सदस्यले आफू कतातिर भन्ने प्रष्ट नपारिसकेको भएपनि महन्थ ठाकुरको पक्षमा २२ केन्द्रीय कार्यकारिणी सदस्य मात्रै छन् ।

निर्वाचन आयोगले महन्थ ठाकुर र उपेन्द्र यादव दुवै पक्षलाई राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को अनुसूची १८ बमोजिमको ढाँचामा कागजात पेस गर्न पनि पत्र काटेको छ । दलको विवरण हेरफेर गर्नुपर्ने भएमा उक्त ढाँचाअनुसार निर्वाचन आयोगमा लेखि पठाउनुपर्ने व्यवस्था अनुसूची १८ मा छ ।