देउवाले प्रष्ट भने- जसरी पनि यो सरकारलाई विस्थापित गर्ने हो

देउवाले प्रष्ट भने- जसरी पनि यो सरकारलाई विस्थापित गर्ने हो
Spread the love

काठमाडौँ, वैशाख २५ (ई-रैवार)

प्रमुख प्रतिपक्ष कांग्रेसको संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । शनिबार बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो ।

शनिबार बसेको संसदीय दलको बैठकले ओलीले प्रधानमन्त्रीका लागि मागेको विश्वासको मत नदिने र अरु दललाई पनि विश्वासको प्रस्तावको विपक्षमा उभिन आग्रह गर्ने निर्णय गरेको प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए । संसद् भवन नयाँ बानेश्वरमा बसेको बैठकले यसअघि पदाधिकारी बैठकले गरेको निर्णयलाई अनुमोदन गरेको उनले बताए ।

नयाँ सरकार गठनका लागि अग्रसरता नदिएको आरोप पार्टीभित्र र बाहिरबाट खेप्दै आएका नेपाली सभापति  देउवा शनिबार संसदीय दलको बैठकमा निकै प्रष्ट देखिएको संसदहरुले बताएका छन् । उनीहरुका अनुसार देउवाले प्रष्ट भनेका छन्, ‘जसरी पनि यो सरकारलाई विस्थापित गर्ने हो ।’

प्रधानमन्त्री ओलीविरुद्ध आक्रमक रुपमा प्रस्तुत भएका देउवाले राष्ट्रपतिको भूमिकामाथि पनि प्रश्न उठाएका थिए । ‘राष्ट्रपतिको भूमिका अमुक पार्टीको नेताको जस्तो भयो । उहाँका कारणले संविधानमाथि बारम्बार प्रहार भयो । राष्ट्रपतिले पदीय दायित्व अनुसारको भूमिका खेल्न सक्नुभएन ।’ राष्ट्रपतिका कारण प्रधानमन्त्री जे पनि गर्ने अवस्था आएको देउवाको आरोप थियो ।

“यो सरकार लोकतन्त्रका कुरा गर्न छोड्दैन । तर, यति धेरै प्रश्नका बाबजुत संवैधानिक परिषद् अध्यादेशजस्ता संविधानविरुद्धका कानुन बनाएर अध्यादेशबाट शासन गर्न खोज्दै छ,” देउवाको भनाइ उद्धृत गर्दै कांग्रेस सांसद प्रकाश स्नेहीले भने, “यति धेरै प्रश्न बेवास्ता गर्दै राष्ट्रपतिले पटक–पटक संविधानमाथिको हमला सदर गर्दै हुनुहुन्छ ।”

‘केपी ओलीले संविधान विधि पद्धति केही नमान्ने भए । संविधानतः नयाँ सरकार निर्माणका लागि राष्ट्रपतिले आह्वान गर्छिन् कि गर्दिनन् शंका छ । संसदको ठूलो पार्टी भनेर ओलीजीलाई नै प्रधानमन्त्री नियुक्त गरिदिइन् भने के गर्ने ?,’ उनको प्रश्न थियो । देउवाले लुम्बिनी प्रदेशमा अल्पमतमा रहेका शंकर पोखरेललार्ई मुख्यमन्त्री नियुक्त गरिएको विषय स्मरण गराएका थिए ।

देउवाले भने, ‘त्यसैलै एकदम सजकतापूर्वक अगाडि बढ्नुपर्छ । मुलुक जटिल स्थितिमा छ । संविधान विधि कानुन केही नमान्ने राष्ट्रपति र प्रधानमन्त्री भएपछि के हुन्छ ? मुलुक दुर्घटनामा जान थाल्यो ।’ बैठकमा १३ जना सांसदले आफ्नो धारणा राखेका थिए । सबै जना सांसदले काँग्रेसको नेतृत्वमा वैकल्पिक सरकार निर्माणमा जोड दिएका थिए ।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिन बोलाएको संसदको विशेष अधिवेशन शुरु हुनु दुई दिनअघि शनिबार बिहान पदाधिकारी बैठक बसेको थियो भने दिउँसो संसदीय दलको बैठक । दुवै बैठकमा सभापति देउवा यसअघिभन्दा प्रष्टताका साथ प्रस्तुत भएको कांग्रेस नेताहरुले बताए ।

बैठकले प्रधानमन्त्री ओली विश्वासको मत लिन आउँदा विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको राजीनामा माग गर्ने र आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने पार्टी केन्द्रीय कार्यसमितिको २१ चैतकै निर्णय अनुमोदन गर्दै बैठकले विश्वासको मत नदिन अरु दललाई पनि आग्रह गरेको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई व्हीप जारी गरेको छ। साथै बैठकले मुलुकलाई असफलताबाट बचाउनका लागि प्रधानमन्त्री ओलीको विपक्षमा मतदान गर्न संसदका सबै राजनीतिक दलहरुलाई पनि आग्रह गरेको प्रमुख सचेतक खाँडले जानकारी दिए।