प्राविधिक धारतर्फ नयाँ पाठ्यक्रम स्वीकृत, चालु शैक्षिक सत्रदेखि नै पठनपाठन हुने

प्राविधिक धारतर्फ नयाँ पाठ्यक्रम स्वीकृत, चालु शैक्षिक सत्रदेखि नै पठनपाठन हुने
Spread the love

काठमाडौं, कात्तिक १४ (ई-रैवार) 

चालु शैक्षिक सत्रदेखि नै प्राविधिक धारतर्फ नयाँ पाठ्यक्रमको आधारमा पठनपाठन हुने भएको छ । प्राविधिक विकास तथा मूल्यांकन परिषद्ले कक्षा ९–१२ मा प्राविधिक धारतर्फ नयाँ पाठ्यक्रम स्वीकृत गरेको हो ।

शिक्षामन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा बसेको परिषद्को बैठकले कक्षा ९–१२ को प्राविधिक धारतर्फको पाठ्यक्रम स्वीकृत गरेको पाठ्यक्रम विकास केन्द्रको सूचना अधिकारी गणेश भट्टराईले जानकारी दिएका हुन ।

‘प्राविधिक धारतर्फ कक्षा ११ मा चालु शैक्षिक सत्रदेखि नै नयाँ पाठ्यक्रम लागू हुन्छ,’ सूचना अधिकारी भट्टराईले भने, ‘कक्षा ९, १० र १२ मा आगामी शैक्षिक सत्रदेखि लागू गर्छौं ।’ साधारण धारतर्फ कक्षा ११ मा गत वर्ष र कक्षा १२ मा यस वर्षदेखि नयाँ पाठ्यक्रमका आधारमा पठनपाठन भएको छ ।

परिषद् बैठकले कक्षा ४–५ र कक्षा ९–१० को नयाँ पाठ्यक्रम पनि स्वीकृत गरेको भट्टराईले जनाए । यी कक्षाको पाठ्यक्रम विद्यालयहरूमा परीक्षणका क्रममा छन् । चालु शैक्षिक सत्रमा परीक्षण गरेर आगामी शैक्षिक सत्रदेखि देशभरका विद्यालयमा लागू गरिने केन्द्रले जनाएको छ ।

त्यस्तै परिषद् बैठकले मदरसामा विज्ञान तथा प्रविधि विषय पढ्न नचाहने विद्यार्थीलाई दिनियात विषय पढ्न पाउने निर्णय गरेको छ । मदरसाका कक्षा ६–१० का विद्यार्थीले विज्ञान प्रविधि विषय पढ्न नचाहेकाले विज्ञान तथा प्रविधिलाई ऐच्छिक बनाएर दिनियात अध्ययन गर्न दिने व्यवस्था गरिएको हो । तर, यो विषय मदरसामा अध्ययन गर्ने विद्यार्थीका लागि मात्र ऐच्छिक हुनेछ ।