काठमाडौं, जेठ ८ (ई-रैवार)
नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ । सभापति शेरबहादुर देउवाले निवास बूढानीलकण्ठमा पदाधिकारी बैठक बोलाएका हुन् ।
कांग्रेस सभापति शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार शनिवार विहान साढे ९ बजे देउवा निवास बूढानीलकण्ठमा बैठक बस्न लागेको हो । उक्त निर्णयको काँग्रेस नेताहरुले चर्को विरोध गरेका छन् । बैठकले सरकारको कदमको प्रतिवाद गर्ने गरी रणनीति तय गर्ने बुझिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा दोस्रोपटक विघटन गरेर चुनावको मिति घोषणा गरेपछि कांग्रेस आन्तरिक तयारीमा जुटेको हो ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले देउवा पार्टी सभापति देउवाको निवासमा बस्ने बैठकमा राष्ट्रपति र प्रधानमन्त्रीको कदमबारे छलफल हुने र आवश्यक रणनीति बनाउने जानकारी दिएका छन् ।
पार्टी सभापति देउवाले बहुमत सांसदहरुको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गरे पनि राष्ट्रपतिले त्यसलाई नमानेको भन्दै कांग्रेस रुष्ट छ । राष्ट्रपति र प्रधानमन्त्रीबाट विधि–पद्धति मिचेर लोकतन्त्रमाथि हमला गरेको भन्दै कांग्रेस नेताहरूबाट आक्रोशपूर्ण प्रतिक्रिया आइरहेका छन् ।
देउवाले पार्टीका नेताहरुसँग बैठकपछि विपक्षी दलका नेतासँग पनि आफै छलफल गर्न बुझिएको छ । माओवादी केन्द्र, एमालेको माधव नेपाल र जसपाको उपेन्द्र यादव पक्षसँगको छलफलको समय भने तय भइसकेको छैन ।


