अल्टिमेटमको समयसीमा सकियो, नेपाल-खनाल निकट सांसदहरुको बैठक बस्दै

अल्टिमेटमको समयसीमा सकियो, नेपाल-खनाल निकट सांसदहरुको बैठक बस्दै
Spread the love

काठमाडौँ, वैशाख २७ (ई-रैवार)  

एमाले नेपाल–खनाल निकट सांसदहरुको बैठक संघीय संसद सचिवालय सिंहदरबारमा बस्दैछ । नेपाल समूहले ६ बुँदे माग पूरा गर्न दिएको समयसीमा समाप्त भएपछि संसद सचिवालय सिंहदरबारमा बिहान साढे नौ बजे बैठक बस्न लागेको हो ।

संघीय संसद सचिवालय सिंहदरबारमा बिहान साढे नौ बजे बस्ने बैठकमा आज संघीय संसदमा हुने विश्वासको मतको विषयमा छलफल हुने बताइएको छ ।

आइतबार पार्टी एकताका लागि भन्दै अध्यक्ष ओलीलाई ६ बुँदे प्रस्ताव पठाएर सोमबार बिहान नौ बजेसम्मको समयसीमा दिएका एमाले नेपाल–खनाल समुहले थप छलफल गर्न बैठक बस्न लागेका हुन् ।

प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नेपाल समूहले आइतबार २०७५ जेठ २ को अवस्थामा फर्किनुपर्ने र आगामी दिनमा पार्टी सहमतिका आधारमा अघि बढाउनुपर्ने प्रतिवद्धता खोजेको थियो । तर प्रधानमन्त्री निकट स्रोतले दिएको जानकारीअनुसार अब नेपालसँग वार्ताको कुनै औचित्य भएको निष्कर्षमा प्रधानमन्त्री पुगेका छन् ।

नेता नेपालले पठाएको ६ बुँदे प्रस्ताव यस्तो थियो 

१) सर्वोच्च अदालतको फैसला तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को विधान, नियमावली, आचार संहिता अनुरुप २०७५ साल जेठ ३ गते पार्टी एकीकरण हुनु पूर्वको अर्थात जेष्ठ २ गतेको स्थितिमा पार्टी, जनसंगठन र पेशागत संगठनका सबै संरचनाहरूलाई केन्द्रदेखि स्थानीय तहसम्म क्रियाशील तुल्याउने ।

२) नवौं राष्ट्रिय महाधिवेशनको मार्ग निर्देशन र पार्टीको विधान विपरीत २०७७ साल फागुन २८ गते गरिएका केन्द्रीय कमिटी विघटन गर्ने लगायतका निर्णय रद्द गर्नुका साथै त्यसको आधारमा त्यसपछि भएका सबै निर्णयहरु खारेज गर्ने ।

३) पार्टीलाई विधि, विधान र पद्धति अनुरुप सञ्चालन गर्ने ।

४) पार्टीमा उत्पन्न अन्तरविरोध, मतभेद र विवादका कारण सिर्जित समस्याहरु तथा एक अर्काप्रति लगाइएका आरोप–प्रत्यारोप एवम् समस्याहरूको बारेमा यथोचित समयमा समीक्षा गरी आवश्यक निर्णय गर्ने ।

५) सरकार र पार्टीको बीचमा समन्वय र सुसम्बन्ध कायम गर्दै पार्टीको सिद्धान्त, नीति, कार्यक्रम र देश तथा जनताको सर्वोपरि हित, अपेक्षा र आवश्यकता अनुसार सञ्चालन गर्ने ।

६) उक्त कुराहरूको आधारमा पार्टीलाई एकताबद्ध रुपमा अगाडि बढाउने । यथा समयमा राष्ट्रिय महाधिवेशन र विभिन्न तहका अधिवेशनहरू सम्पन्न गर्ने ।

यस विपती अगाडि बढेमा सांसद पदबाट राजीनामा दिन बाध्य हुने नेता नेपालको चेतावनी छ ।